थप तीन जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५७ पुग्यो

0
Shares

बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा वीरगञ्ज– २ छपकैयाका ४६ वर्षीय पुरुष, बारा, सिम्रौनगढका ३१ वर्षीय पुरुष र बारा जीतपुर– ७ का ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्। श्रोतका अनुसार तीनै जना यसअघि वीरगन्ज-१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए।

गत आइतबार पनि वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो। तीमध्ये एकजना महानगरका सफाई गर्ने कर्मचारी हुन्। आज पुष्टि भएका संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ। रौतहटका दुईजना संक्रमितको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ। जसमा १६ जना निको भएका छन्।