फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा लकडाउनका कारण घट्यो 

0
Shares

फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (FMDBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८ करोड ६६ लाख ७१ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२ लाख २२ हजार रुपैयाँ कम हो।

गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ९ करोड १८ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा लघुवित्तको नाफा ५.६८ प्रतिशतले संकुचित बनेको हो। थोक लघुवित्त कर्जा प्रवाह गर्ने लघुवित्तले यसअघि हरेक त्रैमासमा नाफा बढाउँदै आएको थियो। 

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुबै ४ प्रतिशत बढीले घटेसँगै खुद नाफामा गिरावट आएको हो। चालु आवको चैत मसान्तसम्ममा लघुवित्तले १३ करोड ८७ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत आवको सोही अवधिको तुलनामा ६१ लाख ७७ हजार रुपैयाँ कम हो।

त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा १४ करोड ४४ लाख ३ हजार रुपैयाँबाट ७० लाख ७४ हजार  घटेर १३ करोड ७३ लाख २९ हजारमा खुम्चिएको छ। लघुवित्तको कर्मचारी खर्च १३ प्रतिशत बढेर १ करोड ५९ लाख पुगेको छ। 

तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको चुक्ता पूँजी ८० करोड ७ लाख ४१ हजार रुपैयाँ रहेको छ। १७ प्रतिशत बोनस शेयर वितरण गरी लघुवित्तले पूँजी बढाएको थियो। पूँजी बढेर नाफा घट्दा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी पनि घटेर १४ रुपैयाँ ४३ पैसा रहेको छ। गत आवको यसै अवधिमा १७ रुपैयाँ ९० पैसा थियो।

समीक्षा अवधिमा लघुवित्तको जगेडा कोषमा १९ करोड ३८ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले ५ अर्ब ६८ करोड ४६ लाख रुपैयाँ सापटीबाट ५ अर्ब ५७ करोड ०९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। 

लघुवित्तको खराब कजा अनुपात शुन्य, कोषको लागत ९.४७ प्रतिशत, पूँजीकोष अनुपात १७.७९ प्रतिशत, प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ २१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २८.७६ गुणा रहेको छ। 

लघुवित्तले आवश्यक तरलता व्यवस्थापन गरिरहेको र पुसको तुलनामा ६८.४० प्रतिशतले वृद्धि भएको उल्लेख छ। संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्विक असर पर्ने कुनै घटना नघटेको भएपनि कोरोना भाइरस संक्रमणका कारण नेपाल लगायत विश्यका अधिकांश देश लकडाउनमा रहेका कारण लघुवित्तको शेयर कारोबार रोक्का हुँदा तरलता र कर्जा प्रवाहमा प्रभाव पर्नसक्ने प्रक्षेपण कम्पनीको छ।