रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन

0
Shares

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ ।

प्रजातन्त्र सेनानीसमेत रहेकी उनको बिहीबार राति निधन भएको परिवारिक स्रोतले बताएका छन्। रानुदेवीले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् ।

सानैदेखि गीत गाउने र गुनगुनाउने गरेकी रानुदेवीको विराटनगरको अधिकारी परिवारमा विवाह भएको हो।

तारिणीप्रसाद कोइरालाको नेतृत्वमा बिराटनगरमा रेडियो स्थापना भएपछि कोइरालाले नै उनलाई रेडियोमा गीत गाउन भनेका थिए। त्यतिबेला उनको उमेर १६ वर्षको थियो। उनले बिराटनगरको मिल्स एरियामा रहेको एउटा सानो स्टुडियोबाट गीत गाउने गर्थिन्।

२००७ मा प्रजातन्त्रको स्थापनापछि काठमाडौंमा रेडियो नेपालको स्थापना गरिएको थियो। केही समयका लागि रानुदेवी काठमाडौैं आएर रेडियो नेपालबाट गीतहरु गाएकी थिइन्।

त्यसपछि उनी कोलकाता गएर ६ वटा गीतहरु रेकर्ड गराइन्, जसमध्ये दुईवटा गीत क्रान्तिकारी थिए। त्यसपछि शुरु भएको पञ्चायती व्यवस्थामा उनका ती क्रान्तिकारी गीत प्रतिबन्धित गरिएका थिए।