अमेरिकाको कालोसूचिमा एमाजनका पाँच विदेशी वेबसाइट

0
Shares

अमेरिकाले घरेलु बहुराष्ट्रिय अनलाइन खुद्रा कम्पनी एमाजनको पाँच ओटा विदेशी वेबसाइटलाई कालो सूचिमा राखेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कम्पनीको बेलायत, जर्मनी, फ्रान्स भारत र क्यानडेली वेबसाइटलाई ‘कुख्यात बजार’को सूचिमा राखेको हो । यी साइटहरुले नक्कली र चोरी गरिएको वस्तुहरु बेच्ने गरेको अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले बताएको छ ।

कम्पनीले भने यो कदम राजनीतिक रुपमा प्रेरित भएको र आफूले गैरकानूनी क्रियाकलापहरु रोक्न ठूलो धनराशी खर्च गरिरहेको बताएको छ।

अमेरिकी व्यवसायहरुले नक्कली वस्तुको विक्री भएको भन्नेबारे गरेको गुनासोका आधारमा कम्पनीले एमाजनको साइटलाई सो सूचिमा राखेको व्यापार प्रतिनिधिको कार्यालयले बताएको छ

एमाजनका संस्थापक तथा प्रमुख कार्यकारी जेफ बेजोसप्रति ट्रम्पको घृणाका कारण यस्तो कदम चालिएको एक विज्ञप्तिमा एमाजनले बताएको छ । व्यक्तिगत प्रतिशोध साध्न प्रशासनले अमेरिका सरकारको आड लिएको अर्को उदाहरण भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आफ्नो अनलाइन मञ्चमा नक्कली वस्तु रोक्न प्रविधिमा निकै खर्च गरिरहेको कम्पनीको दाबी छ । एमाजनको अमेरिकी वेबसाइट भने सूचिमा समाविष्ट छैन ।

एमाजनको साइटमा विक्रेताको बारेमा स्पष्ट जानकारीहरु नभएको र नक्कली वस्तु विक्री गर्ने मञ्चलाई हटाउने प्रक्रिया लामो र दिक्क लाग्दो भएको गुनासो परेको थियो ।

गत वर्ष मात्रै एमाजनले कालो सूचिमा राखिएका ६ अर्बभन्दा धेरै सामानको सूचि सार्वजनिक गरेको थियो । कम्पनीले पर्याप्त कर नतिरेको लगायत कुरा उठाएर ट्रम्पले बेजोसलाई पटक–पटक गाली गर्दै आएका छन् ।