लिलामी (अक्सन) शेयर के हो ? यसमा लगानी गरि कसरी फाइदा लिन सकिन्छ ?

0
Shares

पछिल्लो समयमा विस्तारै आम जनतामा शेयर बजारमा चासो बढ्न थालेको छ। धेरै नेपाली जनतामा शेयरमा गरिएको लगानीबाट पूँजीगत लाभ प्राप्त हुने देखेपछि यस क्षेत्रमा चासो पनि ह्वात्तै बढेको हो।

तरपनि आईपीओमा लगानी गर्ने लगानीकर्ताहरु चार लाख बढी पुगेपनि अक्सन मार्केटको शेयरमा भने अझै पनि धेरै लगानीकर्ताहरुको रुचि र चासो पुग्न सकेको छैन। धेरै लगानीकर्ताको प्राथमिक निष्काशनमा आउने (आईपीओ) मा चासो रहेको पाइएपनि अक्सन मार्केटमा भने त्यति धेरै चासो भएको पाइँदैन। इतिहासमै कृषि विकास बैंकको अवितरित हकप्रद शेयरमा सबैभन्दा धेरै (९ हजार २०० जना) लगानीकर्ताले अक्सन शेयरमा आवेदन गरेको तथ्याङ्क भेटिन्छ।

  • अक्सन (लिलामी) शेयर के हो ?

कुनै पनि सूचीकृत कम्पनीले आफ्नो पूँजी वृद्धिका लागि बोनस शेयर जारी गने गर्दछ। तर सबै कम्पनीलाई आफुले कमाएको नाफाबाट बाँडिने बोनस शेयरले मात्र कम्पनीको उदेश्य र लक्ष्य अनुसारको पूँजी कायम हुन नसक्ने अवस्था आउन सक्छ। यस्तै नियामक निकायहरुले कहिलेकाँही पूँजीवृद्धिको निर्णय गदछन् यस्तो अवस्थामा कम्पनीले शेयरधनीहरुबाट पूँजी संकलन गर्ने विधि (हकप्रद बिक्री) लाई अपनाउँछन्।

यसरी हकप्रद जारी गर्दा विद्यमान शेयरलाई तोकिएको अनुपातमा शेयर खरीद गर्ने अधिकार दिइएको हुन्छ। यस्तो अवस्थामा कतिपय शेयरधनीले आफ्नो हक अनुसारको शेयर माग गर्दैनन्। यसरी हकप्रद जारी गरेर सम्बन्धित शेयरधनीले खरीद नगरेको शेयर बिक्री प्रबन्धक मार्फत अक्सन (बोलकबोल) मार्फत आम सर्वसाधारणमा बिक्रीमा ल्याउने गर्दछन्।

यसरी कम्पनीले निष्काशन गरेको हकप्रद विविध कारणले सबै बिक्री नहुँदा अवितरित हकप्रद शेयर वा अन्य शेयर पुनः बिक्रीका लागि सम्बन्धित संस्थाहरुले बोलकबोल आह्वान गर्दछन् । बोलकबोलमार्फत बिक्री गर्ने शेयरलाई अक्सन शेयर भनिन्छ ।

बोलकबोलका शेयरहरु प्राय छोटो समयका लागि मात्रै बिक्रीका लागि खुल्ला गरिन्छ । यस्तो शेयर खरीदका लागि बोकलबोल आह्वानपत्रमा उल्लेख भएको शर्त पूरा नभएको खण्डमा आवेदन खारेज पनि हुनसक्छ।

  • अक्सन शेयरमा कसरी आवेदन गर्ने ?

कुनैपनि कम्पनीले पूँजी बढाउनका लागि कम्पनीले नियुक्ती गरेको बिक्री प्रबन्धक मार्फत जारी गरेको कूल शेयर बिक्री नभएको अवस्थामा त्यस्ता शेयरलाई सामान्यतया एक साताको समयावधि तोकेर बोलकबोल मार्फत सार्वजनिक बिक्रीमा ल्याइन्छ।

यस्तो शेयरमा आवेदन गर्नका लागि बिक्री प्रबन्धक मार्फत अक्सन शेयर खरिद गर्न प्रत्येक फारमको १०० रुपैयाँ शुल्क तिरेर आवेदन फारम प्राप्त गर्न सकिन्छ। बोलकबोलमा भएको शर्त अनुसार एकै व्यक्ति एक वा एकभन्दा बढी आवेदन गर्न पाउने निर्धारण हुन्छ।

यसरी आवेदन आफुले खरिद गर्न चाहेको शेयर संख्या र कति दरमा खरीद गर्न चाहेको हो स्पष्ट रुपमा खुलाएर तोकिएको आवश्यक सम्पूर्ण कागजातहरु आवेदनसँग संलग्न गर्नुपर्छ । लगानीकर्ताले खरिद गर्न चाहेको शेयरको कुल रकम बिक्री प्रबन्धकले तोकेको बैंक खाता वा गुड फर पेमेन्ट चेक आवेदन फारमसँगै बुझाउन पनि सकिन्छ।

प्रोमोटर अक्सन शेयर खरीदका लागि भने आवेदन गर्ने लगानीकर्ताले आफ्नो आम्दानीको स्रोत, कर चुक्ता प्रमाणपत्र, कालोसूचीमा नपरेको प्रमाणपत्र पेश गर्नुपर्छ। सम्बन्धित कम्पनीका शाखा कार्यालयहरु, बिक्री प्रबन्धकले देशको ठूला शहरहरुमा तोकेको बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरु मार्फत अक्सन शेयरमा आवेदन गर्न सकिन्छ। यसरी आवेदन गर्दा आवेदन माफरमा तोकिएको विवरण भरी खाममा लाहाछाप लगाएर बुझाउनुपर्छ।

  • कति मूल्यमा गर्ने लिलामी आवेदन ?

अक्सनको शेयर कति मूल्यमा किन्ने भन्ने विषय लगानीकर्ताहरुको सबैभन्दा ठूलो चासोको बिषय हो। अक्सन शेयरमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा आफूले चाहेको मूल्यमा आवेदन दिन सकिन्छ। तर बोलकबोल मार्फत शेयर बिक्री हुने र प्रतिस्पर्धात्मक मूल्यमा आवेदन गर्न पाउने भएकाले धितोपत्रको दोस्रो बजारको आसपास (१० देखि २० प्रतिशत तल) मा बोली लगाउने लगानीकर्ताले अक्सन शेयर सकारेको अवस्था देखिन्छ।

यद्यपी कम्पनीको साख, दोस्रो बजारको मूल्य, भविष्यमा कम्पनीले गर्नसक्ने प्रगति आदीका आधारमा दोस्रो बजारभन्दा धेरै वा अंकित मूल्यमा पनि कतिपय कम्पनीको शेयर बिक्री नभएर पुनः अक्सन गरेको अवस्था पनि भेटिन्छ। त्यसैले कम्पनीको व्यवस्थापन, वित्तीय अवस्था, भविष्यमा गर्नसक्ने प्रगति, र सम्बन्धित कम्पनीको एक वर्षको दोस्रो बजारको ट्रेन्डलाई विश्लेषण गरेर अक्सन शेयरमा बोलकबोल गर्नु उपयुक्त हुने जानकारहरु बताउँछन्।

कुन कम्पनीको शेयरका लागि कति मूल्य बोली लगाउने भन्ने कुरा सम्बन्धित कम्पनीको वित्तीय अवस्था, दोस्रो बजारमा कम्पनीको मूल्य घटबढको अवस्था हेरेर गर्न सकिन्छ । उचित मूल्य लगाउन सकेको खण्डमा प्राथामिक बजारमा जस्तै अक्सन मार्केटबाट खरीद गरिने शेयरबाट उचित प्रतिफल लिन सकिन्छ ।

  • बोलकबोलपछि कसरी छानिन्छ शेयर सर्कान योग्य आवेदक ?

जुनसुकै कम्पनीहरुले पनि प्रतिस्पर्धात्मक मूल्यमा अक्सनको शेयर बिक्रीमा ल्याउने गर्दछ। यसअनुसार बोलकबोलमा आवेदन गर्नेमध्ये सबैभन्दा उच्च मूल्य कबुल गर्नेलाई प्राथमिकतामा राखेर बाँडफाँड गरिन्छ।

यसअनुसार अक्सन शेयर सबैभन्दा जसले सबैभन्दा धेरै मूल्यमा किन्न खोज्छ उसले नै पाउँछ तर दोस्रो बजारमा नै कबुल गरेकोभन्दा सस्तो मूल्यमा शेयर पाइनेगरि आवेदन गर्नुले पनि खास महत्व राख्दैन। किनभने लगानीसँगै त्यसबाट प्राप्तहुने नाफा पनि सँगसँगै जोडिएको हुन्छ।

उच्च मूल्य तिर्नेबाट क्रमशः त्यसपछिको थोरै मूल्य गर्दै अक्सनको शेयर छुट्टाउँदै जाने गरिन्छ। यसरी छुट्याउँदै जाँदा जुन मूल्यमा पुग्दा बिक्री गरिने सम्पूर्ण कित्ता शेयर सकिन्छ, त्यहीँ नै बिक्री मूल्य अथात कटअफ हुन्छ । कटअफ मूल्यभन्दा कम मूल्यमा आवेदन गरेको सम्पूर्ण आवेदन स्वतः रद्ध हुन्छ।

बोलकबोलमा कट अफ मूल्यभन्दा बढी मूल्य बोली लगाउने लगानीकर्ताहरुलाई उनीहरुको माग बमोजिमको शेयर वितरण गरिन्छ । एउटै मूल्यमा दुई अथवा दुईभन्दा बढी लगानीकर्ताको आवेदन प्राप्त भएको खण्डमा सम्बन्धित आवेदकहरुले माग गरेको कित्ता र सो मूल्यमा वितरण हुने कित्ताका आधारमा मिलाएर शेयर बाँडफाँट गरिन्छ। यसरी अक्सन मार्केटमा आवेदन गरि शेयर पाउन नसकेका लगानीकर्ताहरुलाई बाँडफाँडको ७ दिनभित्र उसकै बैंक खातामा रकम फिर्ता गर्ने गरिन्छ ।

  • अक्सन मार्केटबाट शेयर खरिदका यस्ता हुन्छन् फाईदा

लगानीकर्ताले अक्सन मार्केट मार्फत शेयर खरीद गर्दा हुने फाइदा भनेको बजारबाट एकैपटक एउटै मूल्यमा ठूला कित्ता खरीद गर्न सक्नु हो। दोस्रो बजारमा माग वृद्धि हुने वित्तिकै मूल्य बढ्ने गर्दछ।

ठूलो संख्यामा शेयर एउटै मूल्यमा किन्न निक्कै गाह्रो हुन्छ, तर अक्सन मार्केटमा बिक्रीमा आउने शेयर सजिलै ठूलो भोल्युममा उठाउन सकिन्छ । लगानीकर्ताले प्राथमिक बजारमा निश्चित मात्र शेयर प्राप्त गर्ने भएपनि अक्सन मार्केटमा उचित मूल्यमा बोली लगाउन सक्दा आफ्नो मागअनुसार शेयर प्राप्त गर्ने सम्भावना रहन्छ।

अक्सन मार्केट मार्फत खरीद हुने शेयर सम्बन्धित कम्पनीबाट सिधा खरीद हुन्छ। यसमा दोस्रो बजारमा खरीदमा जस्तो ब्रोकर कमिसन तथा नेप्से तथा सेवोन कमिसन तिर्नुपर्दैन ।

हकप्रद जारी भई अवितरित शेयर अक्सन मार्फत बिक्री गरिने भएकाले यस्तो बजारबाट खरीद हुने शेयर दोस्रो बजारमा छिट्टै सूचीकृत भई कारोबार हुन्छ । हकप्रदमा आवेदन दिनेले अक्सन मार्केटमा किन्नेभन्दा धेरै समय कुर्नुपर्छ। अक्सन शेयर बिक्री, बाँडफाँड र रकम फिर्ता तोकिएको समयभित्र नै सम्पन्न हुने भएकाले लगानीकर्ताले लामो समयसम्म आफ्नो लगानीलाई फ्रिजमा राख्नुपर्दैन।

कतिपय शेयरहरु अंकित मूल्यमा नै ठूलो संख्यामा प्राप्त गर्न समेत सकिने हुँदा अक्सन शेयरबाट छोटो समयमा नाफा कमाउन समेत सकिन्छ। अर्कोतर्फ बढाबढ मूल्यमा खरीद गर्दा भोलिका दिनमा शेयरमूल्य घटेर घाटा समेत हुनसक्छ भन्नेतर्फ भने ध्यान पुग्न आवश्यक देखिन्छ।

अक्सन शेयरमा लगानी गर्न शेयर बजारको राम्रो ज्ञान हुन आवश्यक देखिन्छ। नयाँ लगानीकर्ताले उच्च मूल्यमा लगानी गर्दा अक्सन शेयरबाट फाइदा लिन सकिँदैन। त्यसैले शेयर बजारको सुक्ष्म विश्लेषण गर्नसक्ने व्यक्तिले मात्रै अक्सन शेयरमा लगानी गर्नु उपयुक्त हुन्छ।