चिनी उद्योगबाट भुक्तानी नपाउँदा उखु किसान मर्कामा

0
Shares

उधारोमा उखु दिएबापत चिनी उद्योगबाट पाउनुपर्ने रकम नपाएपछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का उखु किसान मर्कामा परेका छन् ।

तीन चिनी उद्योगबाट ४० करोड बराबरको रकम किसानले पाउनुपर्ने बाँकी भए पनि समयमै भुक्तानी नभएपछि समस्यामा परेको उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादव बताउँछन्।

समितिका अनुसार वाग्मती चिनी उद्योगले २५ करोड, लुम्बिनी चिनी उद्योगले १० करोड र इन्दिरा चिनी मिलले पाँच करोड बराबरको भुक्तानी दिन बाँकी छ ।

तीमध्ये वाग्मतीको आर्थिक वर्ष २०७६–०७७, लुम्बिनीको २०७५/०७६ र इन्दिराको आर्थिक वर्ष २०७५/०७६ मा किसानको उखु खरीद गरे बापतको रकम भुक्तानी दिन बाँकी देखिएको हो।

सबै उद्योगले उत्पादन गरेको चिनी बिक्री गरिसके पनि हालसम्म किसानले भुक्तानी पाएका छैनन् । चर्को व्याजदरमा ऋण लिएर खेती गरेका कारण समयमा भुक्तानी नहुँदा दोहोरो मारमा परेको प्रतापपुर–७ छिवनीका किसान पप्पु गुप्ता बताउँछन्।

यहाँ चार ठूला उद्योग रहेकामा मोहिनी चिनी उद्योगको उत्पादन बन्द छ भने लुम्बिनी र इन्दिराले चालु आवमा चिनी उत्पादन गर्न सकेका छैनन् । चालु आर्थिक वर्षमा नवलपरासीमा वाग्मतीबाहेक अन्य तीन वटै उद्योगको उत्पादन बन्द छ ।

चिनी उद्योगले समयमै रकम भुक्तानी नदिने प्रवृत्ति बढ्दै गएकाले सरकारले मूल्य निर्धारण गर्नेक्रममा उद्योगलाई भुक्तानी गर्ने समयावधि समेत तोक्नुपर्ने प्रतापपुर-७ झलनीपुरका उखु किसान मदनचन्द्र कोइरीको भनाइ छ ।

वाग्मती चिनी उद्योगले तत्कालका लागि पेश्की स्वरुप किसानलाई केही रकम उपलब्ध गराउने जनाएको छ। सरकारले उखुको मूल्य प्रतिक्विन्टल ४७१ रुपैयाँ २८ पैसा यस अगाबै निर्धारण गरिसकेको थियो। वाग्मतीले पहिलो चरणमा २०७७ असार मसान्तभित्र प्रतिक्विन्टल रु ३७१ र पैसा २८ को दरले भुक्तानी गर्ने र बाँकी आउँदो दशैँसम्म गर्ने तयारी गरिएको महाप्रबन्धक टंकनाथ काफ्लले बताए।

पश्चिम नवलपरासीमा सुस्ता , प्रतापपुर, पाल्हीनन्दन र सरावल गाउँपालिकामा उखु खेती गरिन्छ । रामग्राम नगरपालिकाको केही भागमा पनि उखु खेती गरिँदै आएको छ । पछिल्लो पटक यस क्षेत्रमा उखु उत्पादनमा कमी आएको छ ।

कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका अनुसार चालु आव २०७६/७७ मा कुल तीन हजार ६२३ हेक्टर क्षेत्रफलमा एक लाख ७१ हजार ३५० मेट्रिक टन उखु उत्पादन भएको तथ्याङ्क छ । यसैगरी अघिल्लो आव २०७५/०७६ मा कुल तीन हजार ६६८ हेक्टर क्षेत्रफलमा एक लाख ७३ हजार ४९० मेट्रिक टन उखु उत्पादन भएको थियो ।

प्रकाशित मिति: २२ वैशाख २०७७, सोमबार  १३ : १४ बजे