हालसम्म ६४ हजार बढी परीक्षण हुँदा ७५ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले सोमबारसम्म रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) दुबै गरि सबै ७७ वटै जिल्लामा कूल ६४ हजार ४८५ वटा परीक्षण भैसकेको जनाएको छ।

यसरी परिक्षण भएमध्ये पीसीआर विधिबाट कूल १३ हजार ६४० वटा र आरडिटी विधिबाट कूल ५० हजार ८४५ वटा परीक्षण भएका हुन्। गत २४ घण्टामा १ हजार ३८२ वटा थप नयाँ नमुना परिक्षण भएको हो।

प्रवक्ता देवकोटाले सुदूर पश्चिम प्रदेशमा सबैभन्दा धेरै १४ हजार १३६ वटा आरडिटी विधिबाट परीक्षण भएको तथा प्रदेश नम्बर ५ मा सबैभन्दा कम ४ हजार ८३१ वटा आरडिटी परीक्षण भएको जानकारी दिए।

आरडिटी विधिबाट प्रदेश नम्बर एकमा ५ हजार ८३७ वटा वटा परिक्षण भएका छन्। यस्तै प्रदेश नम्बर दुई मा ५ हजार ७३६ वटा, वाग्मती प्रदेशमा ८ हजार ६१० वटा, गण्डकी प्रदेशमा ५ हजार ८८२ वटा, र कर्णाली प्रदेशमा ५ हजार ८१३ वटा आरडिटी परीक्षण सम्पन्न भएको छ।
विराटनगरमा कोशी अस्पतालको प्रयोगशालामा पिसिआर विधिबाट परीक्षण भइरहेकामा त्यहाँ रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट समेत परीक्षण शुरु भएकाले हाल कूल १७ स्थानबाट पीसीआर परीक्षण सेवा थालिएको डा. देवकोटाले जानकारी दिए।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा कोभिड १९ बाट संक्रमितहरुको कूल संख्या ७५ पुगेको जानकारी दिए। जसमध्ये ५८ जना पुरुष र १७ जना महिला रहेका छन्। संक्रमितमध्ये प्रदेश नम्बर १ मा ३१ जना, २ मा १३ जना, वाग्मती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश नम्बर ५ मा १७ जना, कर्णाली प्रदेशमा शुन्य र सुदूर पश्चिम प्रदेशमा ५ जना गरिक कूल ७५ जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्म १६ जना उपचारपछि निको भई घर फर्किसकेका छन् भने ५९ जना उपचाररत रहेको प्रवक्ताले बताए। रुपन्देहीमा १ जना, नेपालगञ्जमा १६ जना, धनगढीमा १, भरतपुरमा १, वीरगञ्जमा ९, र विराटनगरामा ३१ जना उपचाररत रहेका छन्। सबै संक्रमितको स्वास्थ्यस्थिति सामान्य रहेको छ।

मन्त्रालयले कोभिड १९ को जानकारी दिने उदेश्यले स्थापना गरेको २ वटा कल सेन्टरहरु १११५ र ११३३ बाट गत २४ घण्टामा १ हजार ८७६ वटा जिज्ञासाको चिकित्सकहरुबाट सामाधान (जवाफ) गरिएको छ। यस्तै गण्डकी प्रदेशले १०९२ र सुदूर पश्चिम प्रदेशको ११४८ नम्बरको कल सेन्टरबाट समस्या समाधान गर्दै आएका छन्। यी नम्बरमा फोन गरेर आफ्ना जिज्ञासा राख्न सकिन्छ।

प्रकाशित मिति: २२ वैशाख २०७७, सोमबार  १६ : ४६ बजे