शेयर कारोबार खुल्ने नखुल्नेमा आजको मन्त्रीपरिषद्को निर्णयमा भर पर्ने

0
Shares

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरेसँगै बन्द भएको शेयर बजारको कारोबार खुल्ने बुधबार बस्ने मन्त्रीपरिषद्को निर्णयमा भर पर्ने भएको छ ।

बुधबार सरकारले लकडाउनलाई केही खुकुलो बनाउने नीति लिएको खण्डमा आगामी आइतबारदेखि सेयर बजार खुल्नेछ तर उच्च स्तरीय समितीको सुझाव बमोजिम लकडाउनलाई निरन्तरता दिए बजार नखुल्ने जनाइएको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले मानिसहरू भेला हुने तथा भिडभाड गर्न नदिनका लागि लकडाउन गरेको मंगलबार ४३ दिन पूरा भएको छ । सरकराले आगामी शुक्रबारसम्म पूर्ण रूपमा देश लकडाउन राख्ने निर्णय गरिसकेको छ ।

त्यसपछिका दिनमा के गर्ने भन्ने सन्दर्भमा निर्णय हुन बाँकी नै रहेको हुनाले के हुन्छ भन्ने यकिन गर्न सकिँदैन । सरकारले लामो समयको लकडाउनलाई केही व्यवस्थित गरेर खुकुलो बनाएको खण्डमा आगामी आइतबार वैशाख २८ गतेदेखि शेयर कारोबार खुलाउने विषयमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज(नेप्से)लागेका छन् ।

मंगलबार आगामी दिनमा सेयर बजारमा कारोबार गराउदा कसरी गर्ने भन्ने विषयमा धितोपत्र बोर्ड र नेप्सेले छलफल समेत गरेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । “कम्पनीको शेयर मूल्यमा सीमा तय गरी सर्किट ब्रेकरको हालको प्रणालीलाई पनि केही परिस्कृत गरेर कारोबार गराउन सकिन्छ कि भनेर छलफल चलिरहेको छ,” साउदले भने, “सरकारले लकडाउन खुकुलो बनाएको खण्डमा अनलाइनमार्फत केही उपयुक्त व्यवस्थाहरू गरेर सेयर कारोबार गराउन सकिन्छ कि भनेर बोर्डसँग छलफल गरिरहेका छौं ।”

हाल करिब साढे ६ लाख लगानीकर्ता मेरो शेयरमा आवद्ध रहेका छन् । करिब २२ हजार लगानीकर्ताले अनलाइनमार्फत सेयर कारोबार गर्ने लगइन लिएको अवस्था छ । मेरो शेयरमा आवद्ध भएका लगानीकर्ताले ईडीआइएस मार्फत फोन तथा इन्टरनेटको माध्यवाट सेयरको बिक्री गर्न सक्छन् । तर, खरिद गर्न चाहने लगानीकर्ता भने सीमित हुने देखिन्छ । अनलाइन वा विद्युतीय माध्यमबाट पैसाको कारोबार गर्दा सीमा तोकिएको हुनाले किन्नेभन्दा बिक्री गर्ने बढी हुने देखिन्छ । त्यसका साथै अनलाइनमार्फत वित्तीय कारोबार गर्ने संख्या कम भएकाले खरिद कर्ता कम हुने वित्तीयकै बजार असन्तुलित हुने देखिन्छ । यस विषयमा नेप्से तथा केन्द्रीय निक्षेप सेवाले विशेष ध्यान दिएका सेयरको कारोबार खुलाउनुपर्ने हुन्छ ।

संकटपूर्ण अवस्था कहिलेसम्म लम्बिन्छ भन्ने निश्चित नभएको अवस्थामा सेयर बजारलाई पनि सधैँ बन्द राख्न नहुने साउदको भनाइ छ । लकडाउन केही खुकुलो हुने भएकाले बजार सञ्चालनमा कठिनाइ भने नहुने उनको भनाइ छ ।

शेयर दलाल, केन्द्रीय निक्षेप प्रणाली तथा सम्बद्ध पक्षहरूसँगको छलफल जारी रहेको छ । मेरो शेयर लिएका लगानीकर्ताले ईडीआईएसबाट सेयर राफसाफ गराउनुका साथै क्लियरिङ हाउसको कनेक्ट आईपीएस प्रणालीबाट रकम भुक्तानीको व्यवस्था गराउन सकिन्छ । यसका लागि क्लियरिङ हाउसले १ बजेसम्मको कारोबार र राफसाफ गराउन सहयोग गर्ने जनाइसकेको पनि छ । सेयर दलाल तथा सम्बद्ध पक्षका कर्मचारीहरूलाई सहज रूपमा आवत जावत गर्नका लागि पास पनि पलब्ध गराउने तयारी समेत अघि वढेको छ ।

आजको कारोबार दैनिकबाट

प्रकाशित मिति: २४ वैशाख २०७७, बुधबार  ०८ : २० बजे