कोशी अस्पतालबाट ६ संक्रमित डिस्चार्ज, हालसम्म २२ जनाले जीते कोरोना

0
Shares

विराटनगरको कोशी अस्पतालबाट आज ६ जना कोरोना भाइरसलाई हराएर डिस्चार्ज हुन सफल भएका छन् । कोभिड–१९ उपचार केन्द्रमा उपचारत उनीहरुलाई हिजो रिपोर्ट नेगेटिभ आएपछि आज बिहान डिस्चार्ज गरिएको हो।

डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेका छन्।

यससँगै नेपालमा कूल ८२ जनामा संक्रमण देखिएकोमा कोरोना परास्त गरि निको हुनेको संख्या २२ जना पुगेको छ । बुधबार मात्रै विराटनगरबाट ६ जना भारतीय नागरिकले कोरोनालाई पराजित गरेका हुन्। बैशाख ५ र ६ गते उनीहरुलाई अस्पतालमा भर्ना गरिएको थियो ।

प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेले डिस्चार्ज गरिएका विरामीलाई विदाई तथा शुभकामना दिँदै पुनः संक्रमण देखिने क्रम बढेका कारण डिस्चार्जपछि क्वारेन्टाइनमा राख्न आवश्यक रहेको बताए।

डिस्चार्ज भएकारुलाई १४ दिनसम्म रानी स्थित मस्जिदको क्वारेन्टाइनमा राखेर पछि मात्रै घर पठाईने भएको छ । १४ दिनपछि आरडिटी परीक्षण गरेर कोरोना मुक्त भएको प्रमाणपत्र दिएपछि उनीहरु घर जान पाउनेछन् ।

डिस्चार्ज भएकाहरुसँगै संक्रमण पुष्टि भएका बाँकी ७ जनामा भने रिपोर्ट पोजेटिभ आएको छ। अस्पतालले संक्रमण पुष्टि भएको १४ दिनपछि गत शुक्रबार पहिलो स्वाब संकलन गरेको थियो । जसमा ६ जनामा नेगेटिभ र ७ जनामा पोजेटिभ नतिजा आएको हो।

कोशी अस्पतालमा हाल २५ जना संक्रमितको उपचार जारी छ। उनीहरुको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।