एक्सेलको नाफा घट्यो, खराब कर्जा बढ्दा ११.६८ करोड नोक्सानी व्यवस्था

0
Shares

एक्सेल डेभलपमेन्ट बैंक को गत आवको चैत मसान्तको तुलनामा चालु आवको यसै अवधिमा खुद नाफा २ करोड ८३ लाख रुपैयाँले घटेको छ।
बैंकले देश लकडाउनमा गए पश्चात कर्जा असुलीमा प्रभाव पर्न गई कर्जाको नोक्सानी व्यवस्थामा हुन गएको बढोत्तरीको कारण खुद नाफा र वितरणयोग्य नाफा समेत प्रभावित बनेको जनाएको छ।

चैत मसान्तमा बैंकको खुद नाफा ८ करोड ६० लाख ७२ हजार रुपैयाँ छ। गत आवको यसै अवधिमा बैंकले ११ करोड ४४ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको वितरणयोग्य मुनाफा १ करोड १५ लाख ८० हजार रुपैयाँ छ।

बैंकले चैत मसान्तसम्ममा ९ अर्ब ८ करोड ९० लाख रुपैयाँ बचत संकलन गरि ७ अर्ब ९० करोड ६५ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ। यसबाट बैंकले ३२ करोड ९६ लाख ८६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत आवको यसै अवधिको तुलनामा ५ करोड ७८ लाख बढी हो।

लकडाउनले कर्जा नउठेपछि बैंकले नोक्सानी व्यवस्थापनमा गत आवको यसै अवधिको तुलनामा ८ करोड १४ लाख धेरै ११ करोड ६८ लाख रुपैयाँ छुट्टाएको छ। जसले बैंकको सञ्चालन नाफा ३ करोड ९७ लाख रुपैयाँ घटेर १२ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ। यस अवधिमा बैंकको खराब कर्जा अनुपात २.५८ बिन्दु बढेर ३.६६ प्रतिशत पुगेको छ।

चुक्ता पूँजी ६९ करोड २६ लाख रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी १६.५७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १६३.९२ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२.६३ गुणा रहेको छ।

जगेडा कोषकोआकार ८ करोड बढाएर २८ करोड १० लाख रुपैयाँ पुर्याएको बैंकको शेयरधनी कोषमा १५ करोड ६८ लाख ५० हजार रुपैयाँ र शेयर प्रिमियममा ४८ लाख ९० हजार रुपैयाँ रहेको छ।