तीन सय वर्ष यताकै खराब आर्थिक संकुचन तर्फ बेलायत

0
Shares

यस वर्ष बेलायतको अर्थतन्त्र ३०० वर्षकै खराब आर्थिक संकुचन तर्फ बढेको छ।

कोरोना भाइरसको महमारी नियन्त्रण गर्न लागू गरिएको बन्दाबन्दीका कारण अर्थतन्त्र व्यापक संकुचनमा जान लागेको हो ।

त्यहाँको केन्द्रीय बैंक ‘बैंक अफ इंगल्याण्ड’ (बीओई)ले बताएअनुसार जुनसम्मको तीन महीनामा बेलायती अर्थतन्त्र २५ प्रतिशतले खुम्चनेछ।

वर्षभर भने अर्थतन्त्रमा १४ प्रतिशतको संकुचन आउने जोखिम छ । यो सन् १७०९ को महा ठन्डीयताकै सबैभन्दा ठूलो कमी हुनेछ । सरकार र बीओईले महामारीको बेलामा अर्थतन्त्रलाई टेवा दिन व्यापक स्टिमुलस कार्यक्रम ल्याइरहेको भएपनि अर्थतन्त्रमा ऐतिहासिक संकुचन आउने देखिएको छ । सरकारले व्यापक ऋणपत्र खरीद कार्यक्रम ल्याएको छ ।

आपतकालीन उपाय अन्तर्गत १ खर्ब पाउन्ड खर्चिएको छ । बीओईले पनि ब्याजदर घटाएर अहिलेसम्मकै न्यून स्तरमा राखेको छ । आगामी महीनाहरुमा लकडाउन खुकुलो बनाइयो भने आगामी वर्ष भने अर्थतन्त्रमा तीव्र पुनःबर्हाली आउने समेत बैंकको भनाइ छ ।

सन् २०२१ मा अर्थतन्त्र १५ प्रतिशतले बढ्ने बीओईले बताएको छ । विज्ञहरुले भने अर्थतन्त्र यति छिट्टै पुनःबर्हाली हुनेमा शंका व्यक्त गरेका छन् । जुनमा भने बीओईले परिमाणात्मक खुकुलोपना बढाउने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति: २६ वैशाख २०७७, शुक्रबार  ०७ : २९ बजे