धितोपत्र बिक्रीको भुक्तानी अनिवार्य रुपमा विद्युतीय माध्यमबाट गर्नुपर्ने

0
Shares

नेपाल धितोपत्र बोर्डले यही वैशाख ३० गतेदेखि शेयर बजार पुनः सञ्चालनमा ल्याउन नेप्सेलाई निर्देशन दिएको छ । साथै बोर्डले धितोपत्र बिक्रीको भुक्तानी अनिवार्यरुपमा विद्युतीय माध्यमबाट गर्न समेत भनेको छ।

बोर्डमा आज भएको सरोकारवालासँगको छलफलले दोस्रो बजार कारोवारलाई दैनिक दुई घण्टा (बिहान ११ः०० देखि १ः०० बजेसम्म) सञ्चालनमा ल्याउने गरी व्यवस्था मिलाउने गरी आवश्यक प्रबन्ध गरेको छ ।

बोर्डका प्रवक्ता निरज गिरीका अनुसार प्रारम्भिक कारोवार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुनसक्ने र कारोवार आदेश प्रविष्ट गर्दा दुई प्रतिशतसम्म परिवर्तन हुनेसक्ने व्यवस्था गरी समग्रमा दिनको तीन प्रतिशतभन्दा बढी पविर्तन हुन नदिने व्यवस्था गरिएको छ ।

धितोपत्र बिक्रीको भुक्तानी अनिवार्यरुपमा आइपिएस वा विद्युतीय माध्यमबाट गर्नुपर्ने र आगामी साउनदेखि पूर्णरुपमा विद्युतीय माध्यम नै अवलम्बन गरिने भएको छ ।

नेप्से परिसूचक दुई प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोवार बन्द गरिने, धितोपत्र दलालले विनियमावलीमा व्यवस्था भएबमोजिमको लगानीकर्ताबाट अनिवार्यरुपमा मार्जिन लिने विद्यमान प्रावधानलाई कडाईका साथ लागू गर्ने र लगानीकर्ताको गुनासा सुन्ने तथा समाधान गर्ने सम्बन्धमा ‘हेल्प डेस्क’को प्रबन्ध गर्नुपर्नेछ ।

धितोपत्र बजारमा लगानीकर्तालाई कुनै विशेष अवस्थामा कारोवारको सन्दर्भमा सवारी पासको आवश्यकता परेमा ब्रोकरको सिफारिसमा बोर्ड सम्पर्क राख्ने प्रबन्धसमेत मिलाइएको प्रवक्ता गिरीले जानकारी दिए । नेप्से, सिडिएससी, मर्चेन्ट बैंकरलगायतको कार्यालय आइतबारदेखि सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण बढ्न नदिन ‘लकडाउन’ घोषणा गरेसँगै दोस्रो बजार बन्द भएको थियो । बोर्डको उक्त निर्णयसँगै धितोपत्र बजार ५० औँ दिनमा खुल्न लागेको हो ।