उद्योग, व्यवसाय सञ्चालन गर्न दिने सरकारको निर्णयको परिसंघद्धारा स्वागत

0
Shares

नेपाल उद्योग परिसंघले लकडाउनका समयमा प्रक्रिया र्पुयाएर केही उद्योग, व्यवसाय सञ्चालन गर्न दिने सरकारको निर्णय स्वागत योग्य रहेको जनाएको छ।

यसबाट सामान्य रुपमा भए पनि औद्योगिक गतिविधी बढ्न गई अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने विश्वास परिसंघको छ ।परिसंघले सञ्चालनमा आउने उद्योग व्यवसायहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको अनुसरण गर्न पनि आग्रह गरेको छ ।

यसैगरी आंशिक खुला गरिएका व्यवसाय सञ्चालनका लागि आवश्यक सवारी आवतजावत तथा हिँडडुलका लागि अनुमति पत्र अर्थात पास वितरणलाई थप व्यवस्थित बनाउन पनि परिसंघले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

संक्रमणको जोखिमको आधारमा सम्पूर्ण देश,प्रदेश र स्थानीय तहलाई तीन अलग अलग क्षेत्र अर्थात जोनमा बाँडेर थप कडाई र खुला गर्दै लैजाने काम अघि बढाउन पनि परिसंघले सरकारसँग आग्रह गर्दछ।

रेड, अरेन्ज र ग्रीन जोनमा बाँडेर जोखिमको स्तर निर्धारण गरी संक्रमण नियन्त्रणमा थप काम गर्न सकिने र कम जोखिमका क्षेत्रमा थप खुला गर्दै लैजाँदा स्वास्थ्य र आर्थिक संकटबाट हुने क्षति कम गर्न सकिने भएकाले परिसंघले यसतर्फ कदम चाल्न सरकार सँग आग्रह गर्दछ ।

प्रकाशित मिति: २७ वैशाख २०७७, शनिबार  १३ : ४९ बजे