नेपालगञ्जमा एकैदिन हजार स्वाब सङ्कलन हुँदै

0
Shares

नेपालगञ्जमा एकैदिन हजार जनाको स्वाब नमूना सङ्कलनको तयारी गरिएको छ ।

स्वाब सङ्कलनदेखि आरटिपिसिआर यन्त्रमा कोरोना परीक्षणका लागि लागि आवश्यक पर्ने भिटिएम र रिएजेन्ट्स लगायतको कीट पर्याप्त आएकाले आज शनिबार ठूलो सङ्ख्यामा स्वाब सङ्कलन गरी परीक्षणमा लैजाने तयारी छ। जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार नेपालगञ्जमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारले परीक्षणको दायरा बढाउन दुई हजार टेष्ट किट र एक हजार भिटिएम पठाएको छ।

एउटै वडामा २३ र नजीकको अर्को वडामा एका संक्रमित देखिएपछि सरकारले नेपालगञ्जमा परीक्षणको दायरा बढाउन निर्देशन दिएको छ।

नेपालगञ्जमा २४ जनामा कोरोना देखिएपछि धेरैभन्दा धेरै जनाको परीक्षण गर्न जनस्तरबाट माग बढेको छ। पर्याप्त टेष्ट किट र भिटिएम आएकाले एकान्तबास, मन्दिर र मस्जिद तथा सङ्क्रमितको सम्पर्कमा रहेका सबैलाई परीक्षण गर्ने तयारी भएको छ।

भेरी अस्पताल, नेपालगञ्जमा दिनमा सय जनासम्मको परीक्षण हुने बताइएको छ। आज एकै दिन हजार जनाको स्वाब सङ्कलन भएमा काठमाडौंं लैजानका लागि नेपाली सेनाको जहाज नेपालगञ्जमै राखिएको छ ।

भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा प्रकाश थापाले बाँकेमा सरकारले उच्च प्राथमिकताका साथ आवश्यक उपकरण पठाएकाले स्वाब सङ्कलन तथा परीक्षणमा कुनै अवरोध नहुने बताउँदै आज ठूलो सङ्ख्यामा स्वाब सङ्कलन गर्ने तयारी भएको जानकारी दिए।

  • स्वास्थ्यकर्मीलाई सम्मान

नेपालगञ्जका कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई नागरिकस्तरबाट सम्मान गरिएको छ।

खजुरास्थित कोरोना बिशेष आइसोलेशन अस्पतालमा एक हप्ता कार्यरत रही सेल्फ क्वारेन्टाइनका लागि फर्किएका स्वास्थ्यकर्मीलाई नेपालगञ्जमा फूलमालाले स्वागत गरिनाका साथै दोसल्ला ओढाएर सम्मान गरिएको हो।

एकहप्तासम्म सङ्क्रमित बिरामीको सेवामा रहेर नेपालगञ्जस्थित सेल्फ क्वारेन्टाइनका लागि होटलमा फर्किएका स्वास्थ्यकर्मीको मनोबल बढाउन स्वागत तथा सम्मान गरिएको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए।

उनका अनुसार आइसोलेशनमा एक हप्ता कार्यरत स्वास्थ्यकर्मीलाई चौध दिनका लागि सुविधासम्पन्न होटलमा सेल्फ क्वारेन्टाइनमा राखिँदै आएको छ । त्यसरी क्वारेन्टाइनमा बसेपछि स्वास्थ्यकर्मी फेरि काममा फर्किने गरेका छन् ।

उनीहरुको आवास तथा भोजनको व्यवस्थापनमा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले संस्थागत रुपमा सहयोग गर्दै आएको छ ।

कोरोनाविरुद्धको लडाइँमा अग्रभागमा रहेर दिनरात खटिएका स्वास्थ्यकर्मीलाई भेरी अस्पतालका नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुलवाहिद मन्सुरी लगायतले स्वागत तथा सम्मान गरेका हुन्। कोरोना बिशेष आइसोलेशन अस्पताल खाना तथा भोजन उपसमिति र होटलका तर्फबाट उनीहरुलाई फूलमाला वर्षाइएको थियो ।

भेरी अस्पतालका नर्सिङ अधिकृत तथा आइसोलेशन इन्चार्ज शिला शर्माले काम सकेर फर्किएका स्वास्थ्यकर्मीलाई गरिएको स्वागत सम्मानले समग्र स्वास्थ्यकर्मीको मनोबल उच्च भएको बताइन्।

नेपालगञ्जमा कोरोना सङ्क्रमण देखिएका २४ जनालाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकारले तयार गरेको कोरोना विशेष आइसोलेशन कक्षमा राखेर उपचार गरिएको छ।

अस्पतालमा सरकारी मापदण्डानुसार विविध स्वास्थ्य उपकरणसहित भेन्टिलेशन जडान गरिएका आइसोलेशन कक्ष उपचारका लागि बिरामीमैत्री रहेको नर्सिङ अधिकृत शर्माले जानकारी दिए।

  • औषधिजन्य सामग्रीको अवैध कारोवार बढ्दै

पश्चिम नेपालमा औषधिजन्य सामग्रीमा कालोबजारी तथा अवैध कारोवार बढ्दै गएको छ ।
औषधि पसलको दर्ता तथा नियमन गर्ने निकाय औषधि व्यवस्था विभागको नेपालगञ्जस्थित कार्यालयमा दक्ष जनशक्ति र स्रोत साधनका अभावमा नियमित अनुगमन हुन नसक्दा औषधिजन्य सामग्रीमा कालोबजारी र अवैध कारोवारी बढ्दै गएको पाइएको छ ।

औषधि व्यवस्था विभागको नेपालगञ्जस्थित कार्यालयको प्रदेश ५ का छ, कर्णाली प्रदेशका १० र सुदूरपश्चिम प्रदेशका नौ जिल्ला (साविकको मध्य तथा सुदूरपश्चिम) का २५ जिल्लामा कार्यक्षेत्र रहेको छ।

विभाग नेपालगञ्ज कार्यालयमा पर्याप्त जनशक्ति नहुँदा प्रभावकारीरूपमा अनुगमन हुनसकेको छैन। अनुगमनका लागि दक्ष प्राविधिक जनशक्ति कार्यालय प्रमुखसहित चार जना मात्रै रहेको कार्यालयका निरीक्षक सुरज गौतम बताउँछन्।

उनका अनुसार विभागमा अनुगमनको मात्रै नभई मेडिकल दर्ताको जिम्मेवारी पनि छ । नेपालगञ्ज कार्यालयमा २५ जिल्लाका ४ हजार ६५३ औषधि पसल दर्ता छन् । गाउँसम्म अनुगमन पुग्न विभागसँग जनशक्ति छैन। विसं २०७३ असार १ गतेदेखि औषधि पसलको दर्ता तथा नवीकरण अनलाइन प्रक्रियामा लगेकाका कारण पसल वैध वा अवैध भन्ने यकिन गर्न सजिलो भएको निरीक्षक गौतम बताउँछन्।

  • ११ औषधि पसलविरुद्ध मुद्दा

विभाग नेपालगञ्ज कार्यालयले अवैध कारोवार गर्ने ११ औषधि पसलविरुद्ध मुद्दा दायर गरेको छ।
मानव स्वास्थ्यमाथि खेलबाड गर्दै नेपालमा दर्ता नभएका र प्रतिबन्धित लागुऔषध तथा मनोद्दीपक पदार्थ अवैध रुपमा बिक्री गर्ने औषधि पसलमाथि जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गरिएको विभाग नेपालगञ्ज कार्यालयका निरीक्षक गौतमले जानकारी दिए।

उनका अनुसार चालु आर्थिक वर्ष चैत मसान्तसम्म यस क्षेत्रमा अवैध कारोवारमा संलग्न बाँकेका तीन, बर्दियाका दुई, कैलालीका चार तथा कञ्चनपुर र डोटीका एकएक गरी ११ मुद्दा दर्ता गरिएको हो ।

कोरोना सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीमा अत्यावश्यकीय औषधिमा कालोबजारी गर्नेलाई नियमानुसार जरिवाना गएिको छ। गत आर्थिक वर्ष कार्यालयले चार मात्रै मुद्दा दर्ता गरेको थियो ।

नेपाल औषधि व्यवसायी सङ्घ भेरीका अध्यक्ष अभयकुमार बस्नेतले सङ्घीय संरचनापछि बजार अनुगमनको जिम्मेवारी स्थानीय तहमा रहे पनि सबैले अनुगमन समिति नबनाएका कारण कार्यालयलाई बोझ पर्ने गरेको बताए । उनले औषधि व्यवसाय मानव स्वास्थ्यसँग जोडिएको सेवामूलक भएकाले यसमा हुने अवैध तथा गलत कार्यलाई निरुत्साहन गर्न सङ्घ सदैव प्रतिवद्ध रहेको उल्लेख गरे।

कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दी शुरु भएयता जिल्लास्थित संयुक्त बजार अनुगमन समिति मार्फत औषधि पसलको अनुगमन तीव्र बनाइएको निरीक्षक गौतमले जानकारी दिए। बन्दाबन्दीमा अत्यावश्यक स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको अभियोगमा नेपालगञ्जका तीन औषधि पसललाई चार लाख ५० हजार जरिवाना भएको छ।

गौतमका अनुसार अत्यावश्यक स्वास्थ्य सामग्री स्याननिटाइजर लगायतमा कालोबजारी गरेको अभियोगमा नेपालगञ्जस्थित हिल्स मेडि सप्लायर्स र लाइफ केयर सर्जिकललाई दुई लाखका दरले जरिवाना गरिएको छ भने कमला मेडिसिनलाई ५० हजार जरिवानासहित कारवाही गरिएको छ ।

अन्य बेला जनशक्ति र स्रोत अभावका कारण पर्याप्त मात्रामा अनुगमन हुन नसक्ने भए पनि अहिले कोरोना भाइरस सङ्क्रमणको रोकथामका लागि संयुक्त रुपमा अनुगमन भइरहेको गौतमको भनाइ छ।

नियमित अनुगमनले औषधिको सहज बिक्रीवितरण हुनाका साथै कालोबजारी रोक्न सघाउ पुगेको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य वसन्त गौतमले जानकारी दिए।

प्रकाशित मिति: २७ वैशाख २०७७, शनिबार  १४ : ०९ बजे