हालसम्म ७२ हजार बढी कोरोना नमुना परीक्षण, ३४० जना रेडजोनमा

0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभर हालसम्म रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट गरी कूल ७२ हजार २३९ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको जनाएको छ।

त्यसमध्ये पीसीआर प्रविधिबाट १६ हजार ३०९ र आरडिटी प्रविधिबाट ५५ हजार ९३० जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा मुलुकभर थप १ हजार ७४२ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिए।

हालसम्म आरडिटी प्रविधिबाट प्रदेश नं १ मा ७ हजार ५५, प्रदेश नं २ मा ५ हजार ८९०, वाग्मती प्रदेशमा ९ हजार १०५, गण्डकी प्रदेशमा ६ हजार ३७७, प्रदेश नं ५ मा ६ हजार ६३८, कर्णाली प्रदेशमा ६ हजार १७४ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ६९१ जनामा कोरोना परिक्षण गरिएको छ।

  • १४ हजार ५९२ जना क्वारेटाइनमा, ‘रेडजोन’ मा ३४०

मुलुकभर हालसम्म जम्मा १४ हजार ५९२ जना क्वारेटाइनमा रहेका छन् । जसमध्ये प्रदेश नम्बर एक मा १ हजार ४८६ जना, प्रदेश नम्बर दुईमा १ हजार ३५५ जना, वाग्मती प्रदेशमा २५४ जना, गण्डकी प्रदेशमा ४६३ जना, प्रदेश नम्बर पाँचमा ५ हजार २२८ जना, कर्णालीमा २ हजार ४५५ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ३५१ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।

आइसोलेशनमा रहेका सम्भावित सङ्क्रमित तथा बिरामीको सङ्ख्या कूल १४२ रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। त्यसमध्ये काठमाडौँ उपत्यकामा २ र उपत्यकाबाहिर १४१ जना आइसोलेशनमा रहेका छन् । मन्त्रालयका दुई वटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा १ हजार ९०५ स्वास्थ्य जिज्ञासा सम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकबाट त्यसको उत्तर दिइएको उनले बताए।

त्यसैगरी मन्त्रालयको वेभपेज र मोबाइल एप हाम्रो स्वास्थ्यमा हालसम्म ३४ हजार ५२ जनाले आफ्नो स्वास्थ्य स्थिति जाँच गराएका छन्। पछिल्लो २४ घण्टामा २५४ आफ्नो स्वास्थ्य विवरण ‘इन्ट्री’ गराएका छन् भने त्यसबाट थप ४ जना ‘रेडजोन’ मा परेका छन् । यससँगै रेड जोनाम पर्नेरुको संख्या ३४० पुगेको छ। रेडजोेनमा परेका व्यक्ति भनेका सम्भावित सङ्क्रमित व्यक्ति हुन । जसलाई प्रदेशका स्वास्थ्य निकाय र मन्त्रालयको ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले टे«सिङको कार्य गरिरहेको उनले बताए।

  • शनिबार ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

शनिबार उदयपुर, कपिलवस्तु र पर्सा गरि तीन जिल्लामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ। संक्रमितमध्ये ४ पुरुष र ३ महिला रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये उदयपुर भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलाहरु तथा कपिलवस्तु निवासी १७, १८ र १८ वर्ष तथा पर्साका ६२ वर्षिया पुरुषमा संक्रमण नतिजा पोजेटिभ आएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १०९ जना पुगेको छ। जसमध्ये ७८ जना पुरुष र ३१ जना महिला रहेका छन्।

संक्रमितमध्ये प्रदेश नम्बर एकमा ३४ जना, प्रदेश नम्बर दुईमा ३१ जना, वाग्मती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश नम्बर पाँचमा ३० जना, कर्णालीमा शुन्य र सुदूरपश्चिम प्रदेशमा ५ जना गरि कूल १०९ जना रहेका छन्।

संक्रमितमध्ये ३१ जना डिस्चार्ज भएका छन् भने ७८ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ। रुपन्देहीमा ६ जना, नेपालगञ्जमा २४ जना, भरतपुरमा १ जना, वीरगञ्जमा २७ जना, विराटनगरमा २० जनाको उपचार भैरहेको छ। उपचारको क्रममा रहेका सबै संक्रमितको अवस्था सामान्य रहेको छ।