पिसिआर परीक्षणको दायरा बढाइँदै, ५० हजार पिसिआर किट मौज्दात

0
Shares

सरकारले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन पिसिआर परीक्षणको दायरालाई थप विस्तार गर्दै लैजाने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पिसिआर परीक्षणका लागि हाल मौज्दातमा कूल ५० हजार पिसिआर किट रहेकाले दायरा विस्तार गर्न लागिएको हो।

द्रूत परीक्षणलाई नियमितरुपमा अगाडि बढाइरहेको भए पनि पिसिआरका माध्यमबाट वस्तुगत विवरण प्राप्त हुने भएकाले दायरा विस्तार गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

देशभर नै परीक्षणको दायरा बढाइएको उल्लेख गर्दै मन्त्रालयले कुनै पनि स्थानमा परीक्षणमा कुनै समस्या नहोस् भन्ने तर्फ ध्यान दिइएको उल्लेख गरेको छ । पिसिआर परीक्षणको दायरा नबढेको भन्ने जस्ता गुनासा सुनिन थालेपछि सरकारले थप पहल गरेको हो ।

सरकारले प्रदेश नं २ का रौतहट, बारा र पर्सा तथा प्रदेश नं ५ का जिल्लामा थप परीक्षण गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको जनाएको छ । ती जिल्लामा नमूना सङ्कलनका लागि मन्त्रालयले टोली परिचालन भइसकेको जनाएको छ । सो प्रदेशमा हालसम्म पछिल्ला तीन दिनमा ४०० पिसिआर परीक्षण गरिएको उल्लेख गर्दै प्रवक्ता डा. देवकोटाले लगातार परीक्षण गरिने बताउनुभयो ।

प्रदेश नं ५ मा मात्रै कूल सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ । यस्तै प्रदेश नं १ मा ३४, प्रदेश नं २ मा ३१, वाग्मती प्रदेशमा सात, गण्डकी प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच सङ्क्रमित छन् ।

देशभर कूल १०९ जना कोरोनाबाट सङ्क्रमित भएको तथ्याङ्क पेश गर्दै प्रवक्ता देवकोटाले हालसम्म ३१ जना अस्पतालबाट घर फर्केका र ७८ जना उपचारका क्रममा रहेका छन् । त्यसमा पुरुष ७८ र महिला ३१ रहेका छन् । शुक्रबार कैलालीको सेती अस्पतालबाट एक महिला ३५ दिन पछि घर फर्केको समेत मन्त्रालयलले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार वीरगञ्जमा २७, विराटनगरमा २०, रुपन्देहीमा छ, नेपालगन्जमा २४ र भरतपुरमा एक जना गरी ७८ जनाको उपचार भइरहेको छ । उपचारमा रहेका सङ्क्रमितको अवस्था राम्रो रहेको छ ।

  • थप सामाजिक दुरी कायम गर्ने अनुरोध

सरकारले आइतबारदेखि थप अत्यावश्यक सेवा समेत सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिँदै प्रवक्ता डा. देवकोटाले सामाजिक दुरी कायम गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राख्न आग्रह गरेका छन् । आइतबारदेखि बैंक तथा वित्तीय संस्था, बीमा लगायतका अन्य सेवासमेत सञ्चालनमा आउने भएका छन् । यस्तै मङ्गलबारदेखि शेयर बजारसमेत खुल्ने भएको छ ।

यो अवस्थालाई मध्यनजर गरेर सामाजिक दुरी कायम गर्न, घर तथा कार्यालय जाँदा साबुन पानीले हात धुने तथा स्यानीटाइजरको प्रयोग गर्न उनले आग्रह गरे।

“सामाजिक दुरी कायम गर्दै मास्क लगाउन तथा अन्य स्वास्थ्य सुरक्षाको उपायसमेत अपनाउन अनुरोध छ”, डा. देवकोटाले भने। यस्तै कार्यालयमा भौतिक दुरी कायम गरी आवश्यक सेवा प्रवाह गर्न र आधिकारिक सूचनाको पहुँचमा रहनसमेत उनले सबैमा अनुरोध गरेका छन्।

प्रकाशित मिति: २७ वैशाख २०७७, शनिबार  १८ : २६ बजे