महालक्ष्मी लाइफको खुद नाफा साढे ६ करोड बढी

0
Shares

जीबन बीमा कम्पनीहरुमध्ये कान्छो कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी (MLIL) ले आर्थिक वर्ष ०७६/०७७ तेस्रो त्रैमाससम्ममा ६ करोड ५८ लाख १७ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.७२ प्रतिशतले धेरै हो । गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ६ करोड २२ लाख ५४ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

चालु आवको यो अवधिमा कम्पनीले ३९ करोड ३१ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । यो बीमाशुल्क गत वर्षको सोही अवधिको तुलनामा १६.३७ प्रतिशतले धेरै हो।

गत आवको सोही अवधिमा कम्पनीले ३३ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

हाल १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले समीक्षा अवधिसम्ममा जगेडा कोषमा ७ करोड २ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको सञ्चित कोषमा ६ करोड ९७ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको जीवन बीमा कोषमा ४९ करोड १९ लाख ५२ हजार रुपैयाँ छ। गत आवको सोही अवधिमा जीवन बीमा कोषमा १ करोड ६९ लाख ७३ हजार रुपैयाँ रहेको थियो।

चालु आवको चैत मसान्तसम्म कम्पनीले १ अर्ब ७० करोड १३ लाख दीर्घकालीन कर्जा र ८ करोड ७५ लाख २४ हजार अल्पकालीन लगानी गरेको छ। पुनबीमा कमिशन वापत कुनैपनि आम्दानी नगरेको कम्पनीले लगानी कर्जा तथा अन्यबाट ३ करोड १५ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेको छ।

बीमालेख धितोमा १२ करोड ५४ लाख ७३ हजार रुपैयाँ कर्जा प्रवाह गरि ६० लाख ८७ हजार रुपैयाँ आम्दानी गरेको छ। यस अवधिसम्म कम्पनीले १४ लाख ८९ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ।

हालसम्म ८ हजार ८७२ बीमालेख जारी गरेको कम्पनीले ६४ करोड ९६ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ भने २ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी परेकोमा भुक्तानी हुन बाँकी छ।