आम्दानीको तुलनामा शेयरमूल्य १८५ गुणा महङ्गो रहेको लघुवित्तको नाफा २० लाख

0
Shares

धितोपत्रको दोस्रो बजारमा चालु आवको तेस्रो त्रैमासको अन्तिम कारोबार दिनमा अर्थात लकडाउन अघि चैत ९ गते प्रतिकित्ता ६१८ रुपैयाँमा अन्तिम कारोबार भएको गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य उसको आम्दानीको तुलनामा १८५.६७ गुणा महङ्गो रहेको देखिएको छ।

आम्दानी न्यून गर्दै आएपनि लघुवित्तको शेयरमा खेलाडीहरुले चलखेल गर्दा आम्दानी नभएपनि उच्च शेयरमूल्य कायम भएको हो। २० रुपैयाँभन्दा धेरै इपिएस रहेको वाणिज्य बैंकको शेयर लघुवित्तको आधाभन्दा कम मूल्यमा पाइरहेको अवस्थामा लघुवित्तको शेयरमा चलखेलका कारण उच्च हुने गरेको छ।

सामान्यतया आम्दानीको २० गुणा वा सोभन्दा कम शेयरमूल्य रहेका कम्पनी मात्र लगानीका लागि उपयुक्त मानिन्छन्। तर शेयर बजारमा थोरै पूँजी हुने लघुवित्तहरुमा विशेषगरि शेयर कर्नरिङ्ग गरेर शेयरमूल्य उच्च बनाउने गरेको छ।

गुराँस लघुवित्तको नाफामा नाफामा ६३.८७ प्रतिशतको उच्च गिरावट आएको छ। लघुवित्तले चैत मसान्तसम्ममा २० लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जबकी उसले गत आवको यसै अवधिमा ५७ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा ३ करोड बढी खुद ब्याज आम्दानी आजन गरेपनि आम्दानीले खर्च धान्न मुस्किल पर्दा लघुवित्तको सञ्चालन नाफा ६३.९८ प्रतिशतले घटेर ३२ लाख ७७ हजार रुपैयाँमा खुम्चिएको छ ।

चुक्ता पूँजी आठ करोड ३४ लाख रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३.३३ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ, खराब कर्जा अनुपात ३.५८ प्रतिशत रहेको छ।

यस अवधिमा कम्पनीको जगेडा कोषमा १ करोड बढी रकम सञ्चित रहेको छ।

प्रकाशित मिति: २९ वैशाख २०७७, सोमबार  २० : ४९ बजे