बाइस कम्पनीको शेयरमूल्य ३ प्रतिशतले घट्यो, कुनैपनि कम्पनीको बढेन

0
Shares

लकडाउनका बीच नयाँ नियम र व्यवस्था सहित ५० औँ दिनमा मंगलबारदेखि खुलेको धितोपत्रको कारोबार बजार खुला भएको १ घण्टा १६ मिनेटमा नै नकारात्मक सर्किट लागेर मंगलबारका लागि बन्द भएको छ। नयाँ व्यवस्थामा नेप्से परिसूचक २ प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोबार बन्द गरिने व्यवस्था अनुसार मंगलबार कारोबार बन्द भएको हो।

यस अवधिमा कारोबारमा आएका ८७ कम्पनीमध्ये २२ कम्पनीको शेयरमूल्य ३ प्रतिशतले हाराहारीमा नै घटेको छ। जनउत्थान सामुदायिक लघुवित्त र हिमालयन बैंकको सबैभन्दा धेरै ३ प्रतिशतले घटेको छ। तर नेप्सेले कम्पनीले गत आवको नाफाबाट लघुवित्तको २५ प्रतिशत बोनस समायोजनलाई हिसाब नगरि २२ प्रंतिशत धेरैले घटेको उल्लेख गरेको छ।

यसैगरि नबिल बैंक, नागरिक लगानी कोष, कृषि विकास बैंक, कालिका लघुवित्त, गुराँस लाईफ इन्स्योरेन्स, स्वरोजगार, ग्रामीण विकास लघुवित्त, हिमालयन डिष्टलरी, ग्लोबल आईएमई लघुवित्त, शिखर इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन पावर पार्टनर, एभरेष्ट बैंक, नेपाल लाईफ, छिमेक लघुवित्त, युनाइटेड इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, सूर्या लाईफ, एनएमबि बैंक र तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य ३ प्रतिशत हाराहारीमा घटेको हो।

यसदिन १ लाख ६ हजार ३१२ कित्ता शेयर २९१ वटा संख्यामा भएको कारोबारबाट १० करोड ४३ लाख ७२ हजार रुपैयाँ बराबरमा खरीद बिक्री भएका छन्।

लकडाउनका कारण बन्द भएको धितोपत्र बजार मङ्गलबारदेखि दैनिक दुई घण्टा (बिहान ११ः०० देखि १ः०० बजेसम्म) सञ्चालनमा आएको हो।
हालको ब्यवस्थामा प्रारम्भिक कारोवार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको १ प्रतिशतसम्म परिवर्तन हुनसक्ने र कारोवार आदेश प्रविष्ट गर्दा २ प्रतिशतसम्म परिवर्तन हुनेसक्ने व्यवस्था गरी समग्रमा दिनका ३ प्रतिशतभन्दा बढी परिवर्तन हुन नदिने व्यवस्था गरिएको छ।

धितोपत्र बिक्रीको भुक्तानी अनिवार्यरुपमा आइपिएस वा विद्युतीय माध्यमबाट गर्नुपर्ने र आगामी साउनदेखि पूर्णरुपमा विद्युतीय माध्यम नै अवलम्बन गरिने भएको छ ।

धितोपत्र बजारमा लगानीकर्तालाई कुनै विशेष अवस्थामा कारोबारको सन्दर्भमा सवारी पासको आवश्यकता परेमा ब्रोकरको सिफारिसमा बोर्ड सम्पर्क राख्ने प्रबन्धसमेत मिलाइएको छ ।