वाणिज्य बैंकहरुको निक्षेप पौन ३१ खर्ब, साढे २७ खर्बको कर्जा लगानी

0
Shares

चालु आवको ९ महिना अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ३० खर्ब ७० अर्ब रुपैयाँ नाघेको छ। बैंकहरुमा चैत मसान्तसम्म सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले ३० खर्ब ७० अर्ब ४२ करोड ६१ लाख रुपैयाँ बराबरको निक्षेप संकलन गरेका हुन्।

यसैगरि यी बैंकहरुले चैत मसान्तसम्ममा कूल २७ खर्ब ५२ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ बराबरको कर्जा लगानी गरेका गरेका छन्।

गत आवको यसै अवधि (चैत मसान्तसम्म) मा २७ वाणिज्य बैंकहरुको कूल निक्षेप संकलन २४ खर्ब ५८ अर्ब ४२ करोड १२ लाख रुपैयाँ र कर्जा लगानी २२ खर्ब ०९ अर्ब ५८ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकहरुको निक्षेप संकलन रकम ६ खर्ब १२ अर्ब ३० करोड रुपैयाँ र कर्जा लगानी रकम ५ खर्ब ४२ अर्ब ९८ करोड रुपैयाँले वृद्धि भएको हो। प्रतिशतका आधारमा हेर्दा यस्तो वृद्धि निक्षेपमा २४.९१ प्रतिशत र कर्जा लगानीमा २४.५७ प्रतिशतको वृद्धि देखिन्छ।

यस अवधिमा जनता बैंकसँग मर्जर गरेको ग्लोबल आईएमइ बैंकको सबैभन्दा धेरै २ खर्ब १ अर्ब बढीको निक्षेप संकलन रहेको छ भने सरकारी स्वामित्को राष्ट्रिय वाणिज्य बैंकको पनि २ खर्ब बढीको निक्षेप संकलन गरेको छ। २७ बैंकमध्ये १५ बैंकको निक्षेप १ खर्ब माथि रहेको छ भने १२ को कम छ। सिभिल बैंकको सबैभन्दा कम ४९ अर्ब ८४ करोड ९९ लाख रहेको छ।

त्यसैगरि कर्जा लगानीकतर्फ पनि ग्लोबल आईएमई बैंक अग्र स्थानमा रहेको छ । बैंकले १ खर्ब ८५ अर्बको कर्जा लगानी गर्दा दोस्रो स्थानमा रहेको एनआईसी एशिया बैंकले १ खर्ब ६१ अर्बको कर्जा लगानी गरेको छ। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकभन्दा एनआईसी एशियाको कर्जा लगानी १२ अर्ब ५५ करोड बढी हो।

निक्षेप संकलनमा अगाडि भएपनि राष्ट्रिय वाणिज्य बैंकलाई कर्जा लगानीमा नबिल बैंकले पनि उछिनेको छ। यस अवधिमा नबिलले १ खर्ब ४९ अर्ब बढी कर्र्जा लगानी गर्दा राष्ट्रिय वाणिज्य बैंकको १ खर्ब ४८ अर्ब बराबरको रहेको छ। सिभिल बैंक कर्जा लगानीका आधारमा पनि सबैभन्दा पुछारमा रहेको छ। यस बैंकले चालु आवको ९ महिना अवधिमा ५१ अर्ब १ करोड कर्जा लगानी गरेको छ।

समीक्षा अवधिमा वाणिज्य बैंकहरुको औषत निक्षेप संकलन रुपैयाँ र १ खर्ब १३ अर्ब र औषत कर्जा लगानी १ खर्ब १ अर्ब रहेको छ।