आठ वाणिज्य बैंकको दोहोरो अंकको प्रतिशतमा खुद नाफा घट्दा ६ बैंकले भने दोहोरो अंकमा बढाए

0
Shares

चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा २७ वाणिज्य बैंकहरुको सार्वजनिक भएको वित्तीय विवरणमा १२ वाणिज्य बैंकहरुको खुद नाफा घटेको छ भने १५ वाणिज्य बैंकहरुले खुद नाफा वृद्धि गरेका छन्।

खुद नाफा घटेका १२ वाणिज्य बैंकमध्ये ८ वाणिज्य बैंकको दोहोरो अंकको प्रतिशतमा खुद नाफा घटेको छ भने खुद नाफा बढाएका १५ बैंकध्ये ६ बैंकको मात्र दोहोरो अंकको प्रतिशतमा बढोत्तरी भएको वित्तीय विवरण सार्वजनिक भएको हो।

यस अवधिमा बैंक अफ काठमाण्डू, सिभिल बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बंगलादेश बैंक, नेपाल बैंक, नेपाल एसबिआई, बैंकको खुद नाफा दुई अंकको प्रतिशतमा घटेको छ। उता ग्लोबल आइएमई, सेञ्चुरी, प्राइम, मेगा, हिमालयन, एनएमबि बैंकको खुद नाफा दोहोरो अंकको प्रतिशतले बढेको छ। तीन बैंकले ३ अर्ब बढी नाफा आर्जन गर्दा ६ बैंकले २ अर्ब माथि खुद नाफा आर्जन गरेका छन्। चार वाणिज्य बैंकको ९ महिनाको नाफा १ अर्बभन्दा कम छ।

नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा एक अर्ब ५ करोड ३३ लाख रुपैयाँले बढेको छ । बैंकहरुको नाफा २.३६ प्रतिशतले बढेको हो।

चालु आवको नौ महिनाको अवधिमा २७ वाणिज्य बैंकहरुले ४५ अर्ब ६९ करोड ८८ लाख २७ हजार खुद नाफा गरेका छन् । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा एक अर्ब ५३ लाख ३४ हजार बढी हो । गत वर्षको यसै अवधिमा वाणिज्य बैंकहरुको कुल नाफा ४४ अर्ब ६४ करोड ५४ लाख ८४ हजार थियो।

नौ महिनाको अवधिमा सबैभन्दा धेरै नाफा गर्ने बैंकमा नबिल बैंक सबैभन्दा अगाडि छ। जसले ३ अर्ब १५ करोड ८६ लाख ८५ हजार खुद नाफा गरको छ । नबिल बैंकले सबैभन्दा धेरै नाफा कमाए पनि गतवर्षको तुलनामा घटको छ । चैत्रसम्ममा सबैभन्दा कम नाफा कमाउने बैंकमा सिभिल बैंक छ । जसको नाफा ३६ करोड ५ लाख ३५ हजार मात्र छ ।

सबैभन्दा उच्चरुपमा नाफा बढाउने बैंकमा ग्लोबल आइएमई बैंक अग्रपक्तिमा छ । जनता बैंकलाई गाभेको बैंकको नाफा ६८.४७ प्रतिशतले बढेर ३ अर्ब १५ करोड ३९ लाख ४५ हजार कमाएको छ । जुन २७ वाणिज्य बैंकहरुमध्ये दोस्रो उच्च नाफा हो। सबैभन्दा कम नाफा बढेको एनसीसी बैंकको ०.१६ प्रतिशले बढेको छ । कुमारी, एनसीसी, र प्रभु बैंकको खुद नाफा १ प्रतिशतभन्दा कम मात्र बढेको छ।

सबैभन्दा धेरै नाफा घट्नेमा बैक अफ काठमाण्डू छ । जसको नाफा २७.४९ प्रतिशतले घटेको छ । सिभिल बैंकको नाफा पनि २७ प्रतिशतले घटेको छ । कम नाफा घटेको नबिल बैंकको एक प्रतिशतले घटेको छ । २७ वाणिज्य बैंकहरुमध्ये १५ बैंकको नाफा बढेको छ भने १२ को घटेको छ ।

चैत मसान्तसम्ममा २४ वाणिज्य बैंकले एक अर्ब बढी नाफा कमाएका छन् । गत आर्थिक वर्षको चैतसम्ममा अर्ब भन्दा धेरै नाफा गर्ने बैंकहरुको संख्या २६ रहेको थियो । चैतसम्म २ अर्ब रुपैयाँ भन्दा धेरै नाफा गर्ने बैंकको संख्या ७ पुगेको छ । गत वर्षको चैतमा ६ वटा बैंकले मात्र दुई अर्ब बढी नाफा कमाएका थिए।

चैतसम्ममा ३ अर्ब बढी नाफा गर्ने बैंकमा तीन बैंक परेका छन् । जनता बैंकलाई गाभेको ग्लोबल आइएमई, राष्ट्रिय बाणिज्य बैंक र नबिल बैंकले तीन अर्ब बढी नाफा गरेका छन् । गत वर्षको चैतको तुलनामा राष्ट्रिय बाणिज्य बैंक र नबिल बैंक दोहोरीएका हुन भने ग्लोबल थपिएको हो।

कोरोना महामहारीका कारण बैंकहरुको ब्याज तथा कर्जा असुलीमा असहजता आएपछि धेरैजसको बैंकको नाफा घटेको छ । नेपालमा गत चैत ११ देखि सुरु लकडाउन जारी रहेको छ,। अझ राष्ट्र बैंकले कर्जाको ब्याजदरमा सहुलियत दिने तथा कर्जा तिर्ने समय अवधि थप गरिदिएपछि चैत महिनामा बैंकहरुको असुली प्रभावित हुन पुग्यो यसले बैंकहरुको वित्तीय विवरणमा समेत असर पुगेको देखिन्छ।

लकडाउन कहिलेसम्म जारी रहने भने अनिश्चित रहेको र यसको प्रभावले अर्थतन्त्रमा पर्ने असरले आगामी दिनमा बैंकहरुको नाफा अझ घट्ने आंकलन हुन थालेका छन् ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १२ वाणिज्य बैंकको नाफा घटेको छ भने १५ बैंकको नाफा बढेको छ । नाफा बढाएका बैंकहरुले पनि न्यून मात्रामा वृद्धि गरेका छन्।