हालसम्म ९६ हजार कोरोना नमुना परीक्षण, एकैदिन ३४ सय बढी परीक्षण

हालसम्म ९६ हजार कोरोना नमुना परीक्षण, एकैदिन ३४ सय बढी परीक्षण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभर हालसम्म रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट गरी कूल ९५ हजार ९२९ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको जनाएको छ।

त्यसमध्ये पीसीआर प्रविधिबाट २८ हजार १६० र आरडिटी प्रविधिबाट ६७ हजार ७६९ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा मुलुकभर ३ हजार ४८९ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिए। जसमध्ये पीसीआरबाट १ हजार ४६९ र आरडिटीबाट २ हजार २० वटा भएका हुन्। शनिबार ५ हजार बढी नमुना परिक्षण भएकोमा आइतबार पुन परीक्षण संख्या घटेको छ।

हालसम्म आरडिटी प्रविधिबाट प्रदेश नं १ मा ९ हजार १८६, प्रदेश नं २ मा ६ हजार, वाग्मती प्रदेशमा ११ हजार २५७, गण्डकी प्रदेशमा ६ हजार ९३२, प्रदेश नं ५ मा ८ हजार ७५१, कर्णाली प्रदेशमा ७ हजार ३७२ र सुदूरपश्चिम प्रदेशमा १८ हजार २७१ वटा आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ।

मन्त्रालयले माघ १४ गतेदेखि पीसीआर प्रविधिबाट र चैत १९ देखि आरडिटी विधिबाट कोरोनाको नमुना परीक्षण थालेको थियो।

  • १८ हजार ३५७ जना क्वारेटाइनमा, ‘आइसोलेशन’ मा ३४६ जना

मुलुकभर हालसम्म ५३ हजार ८३५ वटा बेड रहेकोमा १८ हजार ३५७ जना क्वारेटाइनमा रहेका छन् । जसमध्ये प्रदेश नम्बर एक मा ९४७ जना, प्रदेश नम्बर दुईमा २ हजार ६१३ जना, वाग्मती प्रदेशमा २२७ जना, गण्डकी प्रदेशमा ३६० जना, प्रदेश नम्बर पाँचमा ११ हजार ९४८ जना, कर्णालीमा ६३४ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६२८ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।

आइसोलेशनमा रहेका सम्भावित सङ्क्रमित तथा बिरामीको सङ्ख्या कूल ३४६ रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। त्यसमध्ये काठमाडौँ उपत्यकामा ३५ र उपत्यकाबाहिर ३११ जना आइसोलेशनमा रहेका छन् ।  जसमध्ये प्रदेश नं १ मा २४, प्रदेश नं २ मा १२२, वाग्मती प्रदेशमा ७१, गण्डकी प्रदेशमा १ जना, प्रदेश नं ५ मा ११७ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना रहेका छन्।

मन्त्रालयका दुई वटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा १ हजार ८५० स्वास्थ्य जिज्ञासा सम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकबाट त्यसको उत्तर दिइएको उनले बताए।

त्यसैगरी मन्त्रालयको वेभपेज र मोबाइल एप हाम्रो स्वास्थ्यमा हालसम्म ३९ हजार ५९८ जनाले आफ्नो स्वास्थ्य स्थिति जाँच गराएका छन्। पछिल्लो २४ घण्टामा १ हजार ६४१ जनाले आफ्नो स्वास्थ्य विवरण ‘इन्ट्री’ गराएका छन् भने त्यसबाट थप १६ जना सम्भावित संक्रमितको ‘रेडजोन’ मा परेका छन् ।

यससँगै रेड जोनम पर्नेरुको संख्या ३८२ पुगेको छ। रेडजोेनमा परेका व्यक्ति भनेका सम्भावित सङ्क्रमित व्यक्ति हुन । जसलाई प्रदेशका स्वास्थ्य निकाय र मन्त्रालयको ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले टे«सिङको कार्य गरिरहेको उनले बताए।

हालसम्म १ लाख ४ हजार ६९० जनाले मोबाइल एप डाउनलोड गरेका छन् भने १४ लाख ९१ हजार १९२ जनाले वेवसाइट भिजिट गरेका छन्।

 

प्रकाशित मिति: ४ जेठ २०७७, आइतबार १७ : २२ बजे