प्रदेश नं ५ का २ सासंदको आरडिटी पोजेटिभ, शुक्रबारदेखि छैटौँ अधिवेशन शुरु हुँदै

0
Shares

प्रदेश नं ५ प्रदेशसभाका सदस्यको आज कोरोना परीक्षण गरिएको छ ।

आरडिटी विधिबाट प्रदेशसभा सदस्य, सुरक्षाकर्मी र कर्मचारी गरी ३९८ जनाको परीक्षण गरिएकामा २ सांसद सहित ११ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठले जानकारी दिए। आरडिटी पोजेटिभ देखिएकाहरुको पिसिआर परीक्षण गरिने बताइएको छ । 

शुक्रबारदेखि प्रदेशसभाको छैटौँ अधिवेशन शुरु हुने भएकाले सुरक्षा सतर्कताका लागि कोरोना परीक्षण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको नियमावलीबमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले शुक्रबार अपराह्न १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन् ।

प्रदेश नं ५ सरकारले आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेको छ । बैठकले जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा दीपावली गर्ने निर्णयसमेत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

बैठकले तराईका जिल्लामा दुई सय र पहाडी जिल्लामा ५० शय्याको आइसोलेशन केन्द्र बनाउने, केन्द्रमा पिसिआरबाट पोजेटिभ देखिएका बिरामीलाई राख्ने र केन्द्र बनाउन कोभिड कोषबाट रकम दिने निर्णय पनि गरेको छ ।

प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएकामा उनले पाउनुपर्ने बीमावापतको १० लाख प्रदान गर्ने निर्णयसमेत गरिएको छ ।

प्रकाशित मिति: ८ जेठ २०७७, बिहीबार  १९ : ३४ बजे