विश्वभर संक्रमित करिब ५२ लाख, ३ लाख ३४ हजार बढीको मृत्यु (अपडेट)

0
Shares

कोरोना भाइरसका कारण विश्वभर ३ लाख ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या झण्डै ५२ लाख पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार विहानसम्ममा साढे ६ बजेसम्म विश्वभर २४ घण्टाको अवधिमा एक लाख ५ हजार ७६७ जना नयाँ संक्रमित भेटिएका छन् ।

विगत २४ घण्टामा विश्वभर ४ हजार ८३३ जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करीब ४५ हजार ६५३ जनाको स्वास्थ्य अवस्था कोरोना भाइरसबाट अत्यन्त जटिल रहेको छ भने २७ लाख ३० हजारको स्वास्थ्य अवस्था सामान्य छ ।

युरोपेली मुलुकहरुमध्ये कोरोना भाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३६ हजार बढीको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ३५९ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९६ हजार २९५ पुगेको छ ।

कोरोना भाइरसबाट सर्वाधिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्स लगायतका मुलुकमा मृतकको संख्या ३० हजार हाराहारीमा छ । हालसम्म इटालीमा ३२ हजार ४८६ , फ्रान्समा २८ हजार २१५, स्पेनमा २७ हजार ९४०, बेल्जियममा ९ हजार १८६, जर्मनीमा ८ हजार ३०९ र नेदरल्यान्ड्मा ५ हजार ७७५ जनाको मृत्यु भएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोना भाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा २० हजार ४७ को मृत्यु भएको छ । इरानमा ७ हजार २४९, मेक्सिकोमा ६ हजार, क्यानाडामा ६ हजार, चीनमा ४ हजार ६३४ जनाको मृत्यु भइसकेको छ ।