सरकारले सोमबार सार्वजनिक बिदा दिने आइतबार नहुने

0
Shares

सरकारले मुस्लिम समुदायले मनाउने इदुल फित्रको अवसरमा जेठ १२ गते सोमबार सार्वजनिक बिदा गर्ने भएको छ ।

यस अघि सरकारले आइतबार ईदको सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषदबाट गरेको थियो। सोही निर्णयअनुसार गृह मन्त्रालयले सूचना निकालेर ११ गते आइतबार सार्वजनिक बिदा दिने बताएको थियो।

तर, गृह मन्त्रालयले फेरि अर्को सूचना निकालेर त्यसलाई सच्याइएको जानकारी दिएको छ। मुस्लिम आयोगको आग्रहमा आइतबारको सार्वजनिक विदा सोमबारलाई सारिएको गृहमन्त्रालयले जनाएको छ । अब ईदको सार्वजनिक बिदा सोमबार दिइएको गृह मन्त्रालयको संशोधित सूचनामा उल्लेख छ ।

शनिबार चांद (चन्द्रमा) नदेखिएकाले जेठ १२ गते सोमबार नेपालमा इदउल फित्र मनाउने निर्णय भएपछि सरकारले पनि मुस्लिम आयोगको आग्रहमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

चन्द्रमाको अवलोकनका आधारमा इद मनाइने भएकाले शनिबार नेपालभरि चन्द्रमा नदेखिएकाले सरोकारवालाको सल्लाह तथा सुझाबमा जेठ १२ गते सोमबार इद मनाउने निर्णय भएको आयोगका अध्यक्ष समिम अन्सारीले बताएका छन्।