इद उल फित्रको राष्ट्रपति, प्रधानमन्त्री सहित विभिन्न नेताद्धारा शुभकामना

0
Shares

इस्लाम धर्मावलम्बीले मनाउँदै आएको महान् पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, कांग्रेस सभापति शेर बहादूर देउवा र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना दिनुभएको छ।

  • इद उल फित्रले सबै नेपालीको आपसी सद्भाव र सहिष्णुतालाई प्रगाढ तुल्याउने छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले इद उल फित्रले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने बताउनुभएको छ । इस्लाम धर्मावलम्बीले मनाउँदै आएको महान् पर्वका अवसरमा उहाँले आज शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले कोभिड–१९ को महामारीले आक्रान्त पारिरहेकाले यस महामारीबाट बच्न नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी नियमको पालना गर्नु सबै नेपालीको कर्तव्य भएको पनि सन्देशमा उल्लेख गर्नुभएको छ । सबैले संयम र धैर्यका साथ सरकारको आह्वानबमोजिम लकडाउन पालना गरी घरभित्रै रहेर सुरक्षित बनेर पर्व मनाउने पनि उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

  • इद उल फित्र आवश्यक सावधानी अपनाएर मनाउन उपराष्ट्रपतिको आह्वान

उपराष्ट्रपति नन्दबहादुर पुनले अहिलेको प्रतिकूल परिस्थितिमा इस्लाम धर्मावलम्बीले घरघरमै बसेर इद उल फित्र पर्व मनाउने विश्वास व्यक्त गर्नुभएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्रका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउनमा रहेको बेला पर्व आवश्यक सावधानी अपनाएर पर्व मनाउनुपर्ने बताउनुभयो ।

उहाँले यस महान् पर्वका अवसरमा नेपालका सम्पूर्ण इस्लाम धर्मावलम्बी र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै विभिन्न समुदायका चाडपर्व, रीतिरिवाज र धर्म संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको सन्देशमा उल्लेख गर्नुभएको छ ।

नेपालमा कोरोना भाइरसबाट तीन जनासहित विश्वका विभिन्न देशमा जीवन गुमाएका धेरै नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति श्रद्धाञ्जलि र उहाँहरुका परिवारजनमा समवेदना व्यक्त गर्नाका साथै सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उपराष्ट्रपति पुनले देशमा कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन तीव्र भएकाले एक जुट भएर यसविरुद्ध लड्न र विजय प्राप्त गर्नाको विकल्प नभएको पनि सन्देशमा जनाउनुभएको छ । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि तीनै तहका सरकारले चालिरहेका कदम अझै प्रभावकारी बन्दै जान विश्वास व्यक्त गर्दै उहाँले सरकारको प्रयासमा पूर्ण साथ दिन सबैलाई आग्रह गर्नुभएको छ ।