नारायणी अस्पतालका २ महिने शिशु सहित एकै परिवारका थप १८ जनाले जिते कोरोना

0
Shares

वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत थप १८ जनाले कोरोनालाई परास्त गरि पूर्ण रुपमा निको भएका छन् । आइतबारसम्म ८७ जना डिस्चार्ज भएकामा योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या १०५ पुगेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले २ महिने शिशु र १० जना बालबालिकासहित १८ जनालाई अस्पतालले डिस्चार्ज गरेको जनाकारी दिए।
निको भई डिस्चार्ज हुनेहरुमा वीरगन्ज ३, छपकैयाको एकै परिवारका २ महिने शिशु, ३ देखि १३ वर्षसम्मका ३ बालिका, ३ देखि १५ वर्षसम्मका ६ जना बालक, ३२ देखि ६२ वर्षसम्मका ४ महिला र ३७ देखि ६६ वर्षसम्मका ४ पुरुष रहेका उपाध्यायले जानकारी दिए ।

यो परिवारका ३७ वर्षीय पुरुषलाई गएको वैशाख २१ गते कोरोना पुष्टि भएको थियो। पछि परिवारका १७ जना सदस्यमा पनि वैशाख २४ गते सङ्क्रमण देखिएपछि वैशाख २४ गते अस्पतालको आइसोलेसनमा भर्ना गरि उपचार थालिएको थियो।

नारायणी अस्पताल र अस्थायी कोरोना अस्पतालमा गरि बीरगञ्जमा अझै कोभिड १९ संक्रमित ७२ जना व्यक्तिको उपचार भैरहेको छ। शनिबार मात्रै नारायणी अस्पतालको आइसोलेसन वार्डबाट बारा, पर्सा र रौतहटका ९ जनाको कोभिड १९ का विरामी निको भएर डिस्चार्ज भएका थिए।