वीरगञ्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका वृद्धको कोरोना भाइरस नमुना परीक्षणमा पोजेटिभ नतिजा आएको छ। यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ जना पुगेको छ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले वृद्धमा कोरोना पोजेटिभ आएको पुष्टि गरे। यद्यपी यो जानकारी स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छैन।
बाराको कलैया उपमहानगर पालिका वडा नम्बर ७ का चौधरी थरका ७० वर्षिया ती वृद्धको मृत्युको ८ दिनपछि कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ आएको हो।
दम र क्षयरोगको समेत समस्या रहेका उनमा मिर्गौलामा समस्या देखिएपछि जेठ २ गते दिउँसो १ बजे नेशनल मेडिकल कलेजमा भर्ना उनको जेठ ४ गते मृत्यु भएको थियो। वीरगञ्जमा गरिएको परीक्षण शंकास्पद देखिएपछि थप परीक्षणका लागि स्वाब कलेक्सन गरेर परीक्षणका लागि काठमाडौं पठाइएको थियो।
स्वाब परीक्षणको रिपोर्ट आउन ढिलो हुने भएपछि अस्पतालबाट शव हस्तान्तरण भई परिवारले एक साताअघि नै परिवारले आफ्नो रितिपरम्परा अनुसार दाहसंस्कार गरेका थिए।
कोरोना पुष्टि भएसँगै शवबाट आफन्तजन, मलामी गएका व्यक्ति लगायतमा समेत कोरोना संक्रमण फैलिएको हुनसक्ने खतरा बढेको छ ।
मृतकको स्वाबमा कोरोना पोजेटीभ पाइए लगत्तै जिल्ला विपद व्यवस्थापनको वैठक बसी नेशनल अस्पताल सिल गर्ने सम्मको तयारी गरेको छ । यस्तै सो शवको सम्पर्कमा गएका, मलामी गएकाहरु सबैको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब परीक्षण गर्ने तयारी शुरु गरिएको छ।
यसअघि कोरोनाका कारण सिभन्धुपाल्चोक बाह्रविसेका २९ वर्षिया सुत्केरी महिला, बाँके नरैनापुरका २५ वर्षिया पुरुष, गुल्मीका ४१ वर्षिया शिक्षकको कोरोना संक्रमणकै कारण ज्यान गैसकेको छ।
प्रतिक्रिया