पाँच हजार सङ्क्रमित अनुमान गरेर स्वास्थ्य सामग्रीको व्यवस्था, ६६ करोडको प्रक्रियामा

0
Shares

सरकारले पाँच हजार सङ्क्रमितलाई लक्षित गरेर औषधिको व्यवस्थापन गरेको छ । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य विभागको व्यवस्थापन महाशाख निर्देशक डा. भोगेन्द्रराज डोटेल पाँच हजारलाई लक्षित गरेर औषधि व्यवस्थापन गरिएको जानकारी दिए।

उनले शुरुमा एक हजार ५०० सङ्क्रमित हुने अनुमानलाई आधारमा मानेर औषधि व्यवस्थापन गरेपनि सङ्क्रमित सङ्ख्या दिनहुँ बढेकाले पाँच हजार सङ्क्रमितलाई आधारमा मानेर औषधि व्यवस्थापन गरेको बताए। उनका अनुसार सरकारले अहिलेसम्म ९२ करोडको स्वास्थ्य सामग्री ल्याइसकेको र थप ६६ करोडको सामग्री ल्याउने प्रक्रियामा रहेको छ ।

उनले हालसम्म एक लाख भिटिएम प्राप्त गरेको र ती भिटिएम विभिन्न जिल्ला र प्रदेशलाई ८८ हजार वितरण गरिसकेको जानकारी दिए। दुई लाख पाँच हजार भिटिएम खरिद गर्ने प्रक्रिया अगाडि बढाएको उनले बताए।

विभागले पिसिआर किट एक लाख २८ हजार प्राप्त गरेकामा ७८ हजार विभिन्न ठाउँमा पठाएको छ। उनले थप एक लाख ७५ हजार पिसिआर किट खरिद प्रक्रिया अगाडि बढाएको बताए।

यसैगरी एक लाख ७५ हजार आरडिटीमा ८० हजार विभिन्न ठाउँमा पठाइएको र थप एक लाख २१ हजार आरडिटी खरिद गर्ने प्रक्रियामा रहेको जानकारी दिए। एक लाख ४६ हजार व्यक्तिगत सुरक्षा कवच (पिपिई) मा ५४ हजार विभिन्न जिल्ला र प्रदेशलाई वितरण गरिएको छ।

यस्तै एन–९५ मास्क एक लाख ८० हजार, पञ्जा दुई लाख ७८ हजार महाशाखासँगै मौज्दात रहेको उनले बताए। उनका अनुसार १० हजार वोटल स्यानिटाइजर विभिन्न ठाउँमा पठाएको छ। अन्तरराष्ट्रिय दातृ संस्थाले दिएका स्वास्थ्य सामग्रीलाई विभिन्न ठाउँमा पठाइएको महाशाखाका निर्देशक डोटेलले जानकारी दिए।

प्रकाशित मिति: १२ जेठ २०७७, सोमबार  १९ : ४२ बजे