भौगोलिक सूचना उत्पादनका लागि जापानद्धारा १ अर्ब ३२ करोड सहयोग

0
Shares

जापान सरकारले नेपाललाई १ अर्ब १७ करोड जापानी येन अर्थात् १ अर्ब ३२ करोड रुपैयाँ बराबरको अनुदान सहयोग दिएको छ।

जापानले अत्याधुनिक प्रविधिको माध्यमबाट भौगोलिक सूचना उत्पादन गर्ने आयोजनाका लागि उक्त रकम उपलब्ध गराएको हो ।

नेपाललाई प्राकृतिक विपद्को प्रकोपबाट जोगाउन डिजिटल उचाइ मोडल र अर्थोफोटो कार्यान्वयन गर्न यो सहयोग प्रदान गरिएको अर्थमन्त्रालयले जनाएको छ।

यस अनुदान सहायत अन्तरगत जापान सरकारले भौगोलिक सूचना उत्पादनको क्षेत्रमा विकशित नविनतम प्रविधिको अबलम्वन गरी मूलत नेपालको पूर्वी दक्षिण भूभागको भौगिलक सूचना उत्पादन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । बाढी पहिरो भूकम्प जस्ता प्राकृतिक प्रकोपहरुको न्युनीकरण तथा रोकथामका लागि उत्पादीत भौगोलिक सूचना प्रणाली उपयोगी हुने बताइएको छ।

अर्थोफोटो हवाई माध्यम या स्याटेलाइटबाट ज्यामितीय मापनमा एकरुपताका साथ लिइने फोटामा उपलब्ध दूरी सहजै मापन गर्न सकिने विधि हो।नेपालमा भूकम्प तथा बाढी पहिरोको प्राकृतिक विपत्तिले ठूलो धनजनको क्षति हुन नदिन यो परियोजना कार्यान्वयनमा ल्याउन लागिएको हो।

उक्त सहयोगसम्बन्धी सम्झौतामा अर्थसचिव शिशिरकुमार ढुंगाना र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले हस्ताक्षर गरेका छन्।

जापान अन्तर्रा्ष्ट्रिय सहयोग संस्था (जाइका) ले कार्यान्वयन गर्ने यो परियोजना कार्यान्वयनसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालय अन्तर्रा्ष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल र जाइका नेपालका मुख्य प्रतिनिधि असाकुमा युमिकोले हस्ताक्षर गरेका छन्।