लकडाउनमा निक्षेप संकलन बढेपनि कर्जा लगानी सुस्त, अन्तरबैंक दर दोब्बर पुग्यो

0
Shares

लकडाउनका कारण बैंकहरुमा निक्षेप संकलन बढेपनि सो अनुपातमा कर्र्जा लगानी ठप्प रहेको देखिएको छ।

लकडाउनका बीचमा वाणिज्य बैंकहरुले संकलन गरेको निक्षेपको एक चौथाई रकम मात्र कर्जा परिचालन भएको अपरिष्कृत तथ्याङ्क राष्ट्र बैंकले सार्वजनिक गरेको छ । २०७६ चैतदेखि २०७७ बैशाखसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाले ८३ अर्ब निक्षेप संकलन गरेका छन् भने कर्जा लगानी रकम २२ अर्ब बराबरको मात्र रहेको छ।

कर्जा लगानी सुस्त भएपनि यस अवधिमा अन्तरबैंक दर भने करिब दोब्बरले बढ्न पुगेको छ। केन्द्रीय बैंकका अनुसार २०७६ चैतमा २.१३ प्रतिशत अन्तरबैंक दर २०७७ बैशाखमा ४.०६ प्रतिशत कायम भएको छ ।

यस दुई महिना अवधिमा वाणिज्य बैंकहरुबीच १५३ अर्ब २० करोड र वित्तीय संस्थाहरुबीच बाणिज्य बैंकहरुबीच बाहेक ८ अर्ब ३ करोड अन्तरबैंक कारोबार भएको तथ्याङ्क छ ।

यस अवधिमा राष्ट्र बैंकले वित्तीय बजारमा ३१ अर्ब ६९ करोड तरलता प्रवाह गरेको छ। यस अन्तर्गत स्थायी तरलता सुविधा मार्फत ३० अर्ब १३ करोड र ओभरनाइट रिपोमार्फत १ अर्ब ५६ करोड खुद तरलता प्रवाह भएको हो ।

२०७६ चैतदेखि २०७७ बैशाखसम्मको अवधिमा बैंकिङ्ग प्रणालीमा सुविधाजनक तरलता रहेको छ । २०७७ बैशाख महिनामा बैकिङ्ग प्रणालीमा औसत ४९ अर्ब २ करोड अधिक तरलता रहेको छ।