राष्ट्र बैंकले अर्थतन्त्र पुनरुत्थान गर्नमा मौद्रिक नीति केन्द्रित गर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले कोभिड-१९ महामारीबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न सहयोग पुग्ने गरी मौद्रिक नीति केन्द्रित गर्ने भएको छ ।

केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा मार्फत तरलता व्यवस्थापन गर्दै ब्याजदरलाई उपयुक्त स्तरमा राख्ने र प्राथमिकताप्राप्त क्षेत्रतर्फ कर्जा प्रवाह प्रोत्साहित गर्नेतर्फ मौद्रिक नीति केन्द्रित गरिने जनाएको छ।

आन्तरिक तथा वाह्य क्षेत्र स्थायित्व कायम राख्न प्राथमिकताप्राप्त क्षेत्र, लघु, साना तथा मझौला व्यवसाय, रोजगारी सिर्जना एवम् उद्यमशीलता विकासतर्फ वित्तीय साधन प्रोत्साहित गरी आन्तरिक उत्पादन प्रवद्र्धनमा जोड दिइने पनि राष्ट्र बैंकको भनाई छ।

त्यस्तै भुक्तानी प्रणालीको विकासमार्फत वित्तीय मध्यस्थताको समय तथा लागत कटौती गर्ने, सर्वसाधारणको वित्तीय पहुँच अभिवृद्धि गर्ने र वित्तीय क्षेत्रको सवलीकरण गर्ने कार्यलाई जारी राख्ने भएको छ।

यसैगरी राष्ट्र बैंकले कोभिड-१९ महामारीले पार्न सक्ने थप प्रभावलाई समेत ध्यानमा राखी अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटसँग सामञ्जस्यता कायम हुने गरी वार्षिक मौद्रिक नीति तर्जुमा गरिने बताएको छ ।