सुर्खेतमा भारतबाट फर्किएका युवकको मृत्यु, स्वाब सङ्कलन गरी कोरोना परीक्षण हुँदै

0
Shares

भारतको गुजरातबाट वीरेन्द्रनगर आइपुगेका एक युवाको मङ्गलबार राति मृत्यु भएको छ ।

सुर्खेतको चिङ्गाड गाउँपालिका–५ का २२ वर्षीय वीरेन्द्र रोकायाको प्रदेश अस्पताल कालागाउँ पुग्ने क्रममै बाटोमा मृत्यु भएको हो। मङ्गलबार नेपालगञ्जबाट चिङ्गाड जाने बसमा चढेका ती युवालाई असजिलो भएपछि सुर्खेतको सुब्बाकुनाबाट एम्बुलेन्समार्फत प्रदेश अस्पताल पु¥याइएको थियो ।

अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले अस्पतालमा भर्ना हुने बित्तिकै आफूहरुले जाँच गर्दा उनी मृतावस्थामा रहेको बताए। “राति साढे १२ बजेतिर खबर पाउने बित्तिकै हामी जाँच गर्न गयौँ, उनको मृत्यु भइसकेको रहेछ”, डा. पौडेलले भने।

अस्पतालका निर्देशक डा. डम्बर खड्काले मृतक युवकका साथै उनको साथमा एम्बुलेन्समा आएकाहरुको स्वाब सङ्कलन गरी कोरोना परीक्षण कार्य भइरहेको र दिउँसोसम्म रिर्पोट आउने जानकारी दिए। आफन्तका अनुसार ती युवामा बाथरोगसम्बन्धी समस्या थियो ।

  • बागलुङ भारतबाट आएका आइसोलेसनमा भर्ना

कोरोनाको शङ्कास्पद लक्षण देखिएपछि भारतबाट आएका एक युवकलाई धवलागिरि अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ ।

दिल्लीबाट सुनौली नाका हुँदै मङ्गलबार आएका बागलुङ नगरपालिका–१३ का २३ वर्षीय युवकमा उच्च ज्वरो र जिउ दुख्ने समस्या देखिएपछि हिजै साँझ आइसोलेसनमा भर्ना गरिएको हो ।

जिल्ला भित्रिएपछि उनी बागलुङ नगरपालिका–१ स्थित रामरेखा आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका थिए । “ज्वरो देखिएको छ, अवस्था स्थिर छ, धेरै आत्तिनुपर्ने छैन”, अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने।

मिल्दोजुल्दो लक्षण देखिएपछि कोरोना जाँचका लागि स्वाबको नमूना सङ्कलन गरिएको र आजै पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइने उनको भनाइ छ । जाँचको रिपोर्ट बिहीबारसम्म आइपुग्ने जनाइएको छ । प्रयोगशालामा चाप बढेकाले रिपोर्ट आउन समय लाग्ने गरेको छ ।

प्रकाशित मिति: १४ जेठ २०७७, बुधबार  ११ : १५ बजे