चिलिमे हाइड्रोपावर कम्पनी (CHCL) को खुद नाफा ३.३१२ प्रतिशतले घटेको छ । गत आवको तुलनामा आम्दानीको मुख्य स्रोत विद्युत बिक्री आय घटेर खर्च बढ्दा कम्पनीको नाफा घटेको हो।
कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५२ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै त्रैमासमा कम्पनीले ५४ करोड ३६ लाखरुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
कम्पनीले उत्पादन गरेको सबै बिजुली नेपाल विद्युत प्राधिकरणले खरिद नगर्दा नाफा प्रभावित भएको जनाएको छ। यस अवधिमा कम्पनीले धेरै विजुली उत्पादन गरेपनि प्राधिकरणले सम्झौता बमोजिम मात्र विद्युत खरिद गर्दा नाफा घटेको कम्पनीको भनाई छ ।
वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आय ८० करोड ७५ लाखबाट घटेर ८० करोड ३७ लाख रुपैयाँमा खुम्चिएको छ ।
अर्कोतर्फ कम्पनी सञ्चालनमा आएको १५ वर्ष पूरा भइसकेकाले कर तिर्नुपर्ने कर र रोयल्टी बढेको छ। कर बापत चिलिमेले १३ करोड ८६ लाख रुपैयाँ खर्च गरेको छ । गत आवमा ११ करोड ६७ लाख रुपैयाँ कर तिरेको थियो ।
हाइड्रोको सञ्चालन नाफा गत वर्ष ५८ करोड ८९ लाख रहेको तुलनामा घटेर हाल ५६ करोड १५ लाखमा झरेकोे छ।
चुक्ता पूँजी २० प्रतिशतले बढाएरको कम्पनीको नाफा घट्दा प्रतिशेयर आम्दानी २.९६ रुपैयाँले घटेर १२.२७ रुपैयाँ कायम भएको छ। गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १५.२३ रुपैयाँ थियो।
चुक्ता पूँजी बढाएर ५ अर्ब ७० करोड ९७ लाख ६३ हजार रुपैयाँ पुर्याएको कम्पनीको शेयरधनी कोष ४४ करोड घटेर ४ अर्ब ७ करोड २७ लाख रुपैयाँमा सीमित बनेको छ।
कम्पनीको प्रतिशेयर नेटवर्थ १७१.३३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २९.९८ गुणा छ।
प्रतिक्रिया