रुकुम पश्चिम घटनाका वडाध्यक्ष सहित १२ आरोपी पक्राउ, २० जनाविरुद्ध जाहेरी

0
Shares

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाका पीडित परिवारले २० जनाविरुद्ध किटानी जाहेरी गरेका छन् ।

अन्तरजातीय सम्बन्धलाई लिएर जेठ १० गते भएको घटनाका पीडित परिवारले किटानी जोहरी गरेका हुन् । पीडितले दिएको जोहेरीका आधारमा १२ जनालाई पक्राउ गरिएको र बाँकी ८ जनाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए।

उनका अनुसार वडाध्यक्ष डम्मरबहादुर मल्ल, डिल्ली मल्ल, वीरबहादुर मल्ल, प्रकाशी मल्ल, सन्तोष मल्ल, मोहन पुन मगर, रमेशबहादुर मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ललाई पक्राउ गरिएको छ ।

त्यस्तै तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी र १७ वर्षीया एक किशोरीलाई पक्राउ गरिएको छ। पक्राउ परेका सबैलाई १० दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको प्रहरी नायब उपरीक्षक केसीको भनाइ छ।

जेठ १० गते शनिबार साँझ सोती पुगेका १८ युवाको समूहलाई गाउँलेले लखेट्दा तीन जनाको मृत्यु भएको थियो भने तीन जना अझै बेपत्ता छन् ।

जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक, गणेश बुढामगर र चौरजहारी नगरपालिका–१ का टीकाराम नेपालीको शव भेरी नदीमा भेटिएको थियो । घटनमा भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र वडा नं ४ का सञ्जु विक बेपत्ता छन् ।

बेपत्ता तीनै जनाको खोजीका लागि गोताखोर टोली परिचालन गरिएको छ । खोजीमा सशस्त्र प्रहरीका तीन गोताखोर र सहयोगीसहित सात जनाको टोलीले भेरी नदीमा खोजी गरिरहेको प्रहरीले बताएको छ । पीडित पक्षले भने जाजरकोट प्रहरीमा उजुरी दिएका हुन् ।

प्रकाशित मिति: १४ जेठ २०७७, बुधबार  १५ : ३८ बजे