स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ५ हजार ९०० जनामा कोरोना परीक्षण गरिएको जानकारी दिएको छ।
मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) प्रविधिबाट ३ हजार ५८० र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट २ हजार ३२० वटा परीक्षण सम्पन्न भएको जानकारी दिए।
मुलुकभर हालसम्म पीसीआर र आरडीटी दुबै प्रविधिबाट गरी कूल १ लाख ५८ हजार ५६४ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको जनाएको छ। त्यसमध्ये पीसीआर प्रविधिबाट ५८ हजार २७७ र आरडिटी प्रविधिबाट १ लाख २८७ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
हालसम्म आरडिटी प्रविधिबाट प्रदेश नं १ मा ११ हजार २५२४, प्रदेश नं २ मा ६ हजार ५६९, वाग्मती प्रदेशमा २४ हजार ६८०, गण्डकी प्रदेशमा ७ हजार ९५०, प्रदेश नं ५ मा १७ हजार ४३९, कर्णाली प्रदेशमा ११ हजार ३५२ र सुदूरपश्चिम प्रदेशमा २१ हजार ४५ वटा आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ।
मन्त्रालयले माघ १४ गतेदेखि पीसीआर प्रविधिबाट र चैत १९ देखि आरडिटी विधिबाट कोरोनाको नमुना परीक्षण थालेको थियो।
- ७० हजार ३०५ जना क्वारेटाइनमा, आइसोलेशनमा ६९९ जना
मुलुकभर हालसम्म ७०९ हजार ३०५ जना क्वारेटाइनमा रहेका छन् । जसमध्ये प्रदेश नम्बर एक मा १ हजार ८६८ जना, प्रदेश नम्बर दुईमा १२ हजार १८३ जना, वाग्मती प्रदेशमा १ हजार ३९८ जना, गण्डकी प्रदेशमा १ हजार ९३० जना, प्रदेश नम्बर पाँचमा २६ हजार ७२९ जना, कर्णालीमा ९ हजार ६०९ जना र सुदूरपश्चिम प्रदेशमा १६ हजार ७८८ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।
आइसोलेशनमा रहेका सङ्क्रमित बिरामीको सङ्ख्या कूल ६९९ जना रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। जसमध्ये प्रदेश नं १ मा ७३ , प्रदेश नं २ मा २२६, वाग्मती प्रदेशमा २७ (१ मृत्यु सहित), गण्डकी प्रदेशमा ११ जना, प्रदेश नं ५ मा ३२५ जना (२ मृत्यु सहित), र कर्णाली प्रदेशमा २५ जना र सुदूरपश्चिम प्रदेशमा १२ जना गरि कूल ६९९ जना उपचारका लागि आइसोलेशनमा रहेका छन्।
मन्त्रालयका दुई वटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा १ हजार ४१२ वटा स्वास्थ्य जिज्ञासा सम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकबाट त्यसको उत्तर दिइएको उनले बताए।
त्यसैगरी मन्त्रालयको वेभपेज र मोबाइल एप हाम्रो स्वास्थ्यमा हालसम्म ४९ हजार ९७४ जनाले आफ्नो स्वास्थ्य स्थिति जाँच गराएका छन्। पछिल्लो २४ घण्टामा ४४२ जनाले आफ्नो स्वास्थ्य विवरण ‘इन्ट्री’ गराएका छन् भने त्यसबाट थप ९ जना सम्भावित संक्रमितको ‘रेडजोन’ मा परेका छन् । यससँगै कूल ४६४ जना रेड जोनमा परेका छन्।
रेडजोेनमा परेका व्यक्ति भनेका सम्भावित सङ्क्रमित व्यक्ति हुन । जसलाई प्रदेशका स्वास्थ्य निकाय र मन्त्रालयको ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले टे«सिङको कार्य गरिरहेको उनले बताए।
प्रतिक्रिया