विज्ञहरुको सुझाव बमोजिम लकडाउन खुकुलो पारेर लैजाने सरकारको तयारी

0
Shares

जनस्तरबाट समेत लकडाउन उलङ्घन हुने अवस्था सिजना हुने देखेपछि सरकारले लकडाउन खुकुलो बनाउने गृहकार्य थालेको छ।

बुधबार मंगलबार विभिन्न निजी क्षेत्रका व्यवसायीक छाता संगठनका प्रतिनिधिहरुसँग छलफल गरेको सरकारले बुधबार विज्ञहरुसँग लकडाउन खुकुलो बनाउने सम्बन्धमा छलफल गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले बुधबार विज्ञहरुको सुझाव बमोजिम लकडाउन खुकुलो पारेर लैजाने सरकारको तयारी रहेको समेत बताए । उनले सरोकारवाला निकायसँग बिहीबार पनि छलफल गर्ने र बन्दाबन्दीको नयाँ मोडालिटिको खाका तयार भई मन्त्रिपरिषद् बैठकबाट पारित गरि लागू गर्ने तयारी रहेको जानकारी दिए।

यस्तै सरकारले कोरोना भाइरस संक्रमण (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि हालसम्म ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले ६४ जिल्लामा फैलिएको संक्रमण रोक्न कोरोनाको महामारी लगतै चीनबाट नेपाली बिद्यार्थी स्वदेश ल्याएदेखि हालसम्म कोरोना नियन्त्रण रोकथामका लागि सामाग्री खरिद, क्वारेन्टाइन निर्माण लगायतमा उक्त रकम खर्च भएको जनाएको हो ।

सचिव विडारीका अनुसार केन्द्र तहबाट ६ अर्ब ३ करोड, प्रदेश तहबाट १ अर्ब ८ करोड र स्थानीय तहबाट अहिलेसम्म २ अर्ब ७६ करोड खर्च भएको छ ।
यसैगरी सरकारले स्थापना गरेको ‘कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा हालसम्म २ अर्ब ३२ करोड रुपैयाँ जम्मा भएको उनले बताए ।

कोषमा रकम जम्मा गर्नेहरुको विवरण र रकम प्रधानमन्त्री कार्यालयले दैनिक अद्यावधिक गर्दै सहयोग गर्नेको नाम तथा कोषमा प्राप्त रकम प्रधानमन्त्री कार्यालयको वेबसाइटमा राख्ने गरेको छ।