भोलिबाट पसलहरु संचालन गर्ने राष्ट्रिय व्यवसायी महासंघको निर्णय

0
Shares

नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउनका कारण बन्द रहेका पसलहरू बिहीबारबाट संचालन गर्ने निर्णय गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै सबै व्यापरीहरुलाई विहान ११ बजेसम्म पसल संचालन गर्न आग्रह गरेको छ ।

७१ दिनदेखि जारी लकडाउनका कारण तमाम उद्योग–व्यवसायहरू ठप्प हुँदा घरभाडा, बैंकको ब्याज र किस्ता, कर्मचारीको तलब भत्ता भुक्तानी गर्न समेत उद्योगी व्यवसायीहरूलाई समस्या परिहरेका बेला सरकारले कर तिर्न समेत ताकेता गरिरहेको भन्दै लकडाउन उल्लंघन गर्दै व्यापार व्यवसाय सुरु गर्न लागेको महासंघले बताएको छ।

महासंघले रहरले नभई बाध्य भएर पसलहरू खुला गर्ने निर्णय गरेको बताउँदै पसल व्यवसायहरू खुला गर्दा राज्यबाट बन्द गर्न दबाब आएमा वा बल प्रयोग गरिएको खण्डमा व्यवसायीहरूले राज्यलाई तिर्ने कर, घर भाडा‚ बैंकको ब्याजदर र कर्मचारीको तलब भत्ताको जिम्मा समेत सरकारले लिनुपर्ने बताएको छ ।

साथै पसल खोल्दा न्यूनतम दूरी कायम गर्ने, मास्क तथा स्यानिटाइजर प्रयोग गर्ने लगायतका सुरक्षाका न्युनतम मापदण्ड पालना गर्न व्यापारीहरुलाई आग्रह समेत गरेको छ ।