श्रमिकको पारिश्रमिक भुक्तानी सम्बन्धमा उपयुक्त निकास नआउँदा अन्यौलता

0
Shares

कोभिड—१९ महामारीको कारण उद्योग व्यवसाय र श्रम क्षेत्रमा परेको प्रभाव र समस्या समाधान उपाय वारे सुझाव पेश गर्न गठित त्रिपक्षीय कार्यदलको तेस्रो बैठक जेष्ठ २२ गते श्रम मन्त्रालय सिंहदरवारमा बस्यो ।

वैठकको प्रारम्भमा कार्यदलका संयोजक एवं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह—सचिव वावुराम अधिकारीले कार्यदलले प्रथम, द्वितीय र तृतीय चरणमा गर्न पर्ने कार्यको कार्यसूचि (एजेन्डा) तयार गरी सकेकोले प्रथम चरणमा गर्नुपर्ने कामहरूका वारेमा रोजगारदाता र ट्रेड यूनियनका तर्फबाट ठोस धारणा प्राप्त भएमा सुझाव तयार गर्न सहज हुने बताए ।

छलफलको क्रममा नोपाल उद्योग वाणिन्य महासंघका रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकालले कोभिड—१९ का कारण चैत्र ११ गते देखि लगातार लकडाउन जारी रहेको र यसबाट उद्योग व्यवसाय र श्रम क्षेत्रमा नयां नयां समस्या थपिदै गएको उल्लेख गर्दै श्रमिकको पारिश्रमिक भुक्तानी सम्बन्धमा लामो समय देखि रोजगारदाताको तर्फबाट उपयुक्त निकासका लागि अनुरोध भईरहेकोमा अहिलेसम्म कुनै निकास आउन नसकेकोमा चिन्ता व्यक्त गरे ।

श्रमिकको पारिश्रमिक भुक्तानी सम्बन्धमा महासंघ लगायतका रोजगारदाता संस्थाको तर्फबाट २०७७ वैशाख ८ गतेनै श्रम मन्त्री समक्ष प्रस्ताव पेश गरिसकिएको सम्बन्धमा नेपाल सरकारले वैशाख १४ गते श्रमिकको पारिश्रमिक सम्बन्धमा रोजगारदाताको सुझाव र प्रस्ताव विपरित निर्णय गरेकोले अन्यौलता र समस्या थपिन गएकोले यस विषयमा निश्कर्षमा पुग्न कार्यदलले सुझाव पेश गर्नुपर्ने कुरामा सभापति ढकालले जोड दिए ।

छलफलको अन्तमा नेपाल सरकारले २०७७ वैशाख महिनाको श्रमिकको पारिश्रमिक भुक्तानी सम्बन्धमा निर्णय गरिसकेकाले सो विषयमा कार्यदलले सुझाव तयार गर्न नमिल्ने भएकाले सो विषयमा रोजगारदाताले निर्णय पुनरावलोकन गर्न नेपाल सरकारलाई छुट्टै अनुरोध गर्न सकिने धारणा प्रस्तुत भएको थियो ।