नापी कार्यालयका सर्भेक्षक विरुद्ध साढे ५ करोडको भष्ट्राचार मुद्धा, श्रीमतीको नाममा गैरकानूनी सम्पत्ति

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भक्तपुरका सर्भेक्षक राजेन्द्र काफ्लेले ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै आरोप पत्र दायर गरेको छ ।

अख्तियारका अनुसार काफ्लेले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिबाट भक्तपुर र काभ्रेमा महङ्गो मूल्यमा जग्गाहरु खरिद गरी लिखतमा कम मूल्य देखाई आफ्नो श्रीमतीको नाममा लुकाई राखेको जनाएको छ ।

काफ्लेले २०५४ पुस १ देखि मिति २०७६ वैशाख ३० सम्मको अवधिमा ७ करोड १७ लाख ४१ हजार १५० आर्जन गरेकोमा ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ बराबरको ब्यय तथा लगानी (सम्पत्ति) को स्रोत खुल्न नसकेको अख्तियारका प्रवक्ता प्रदिप कुमार कोइराललो जानकारी दिए ।

सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको तथ्य प्रमाणबाट पुष्टि हुन आएकोले भन्दै अख्तियारले काफ्लेलाई बिगो ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ कायम गरी निजको नाममा रहेको सम्पत्ति समेत जफत गर्न मागदाबी लिई आरोपपत्र दायर गरिएको जनाएको छ।

साथै काफ्लेकी श्रीमती सुशिला काफ्लेको नाममा राखेको चलअचल सम्पत्ति तथा सोबाट बढे बढाएको सम्पत्ति कानून बमोजिम हुन आउने व्याजसमेत आरोपीको नाममा रहेको जग्गा जमिन तथा बैंक मौज्दातबाट असुल उपर गरी जफत गर्न समेत मागदाबी गरेको छ ।