सरकारले हाल लागू गरेको लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गर्ने भएको छ। लकडाउनको नयाँ मोडालिटीको बारेमा छलफल गर्न अहिले मन्त्रिपरिषदको बैठक बसिरहेको छ।
आगामी बजेटका सन्दर्भमा सांसदहरुले संसदमा उठाएका प्रश्नहरुको जवाफ दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको नयाँ मोडालिटीबारे आज निर्णय हुने जानकारी गराएका दिए।
मंगलबारकै बैठकले यस बिषयमा निर्णय गर्ने भनिएपनि प्रधानमन्त्री र मन्त्रीहरू संसदमा व्यस्त भएपछि मंगलबारको बैठक बुधबार सारिएको थियो।
आज बस्ने मन्त्रिपरिषद् बैठकले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तयार पारेको लकडाउनको नयाँ मोडालिटीलाई अन्तिम रुप दिनेछ ।
उच्चस्तरिय समितिले असार एक गतेदेखि चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउने प्रस्ताव गरेको छ। दुई–दुई हप्तामा मोडालिटी परिवर्तन गर्दै जनजीवन सहज बनाउने प्रस्तावमा छ । सुरुका दुईहप्ता केही सेवाप्रदायक संस्था खुकुलो पारेपछि त्यसको अनुभवका आधारमा लकडाउनको स्वरुप दोस्रो तहमा लैजाने योजना छ ।
समितिले असार एक गतेपछि विभिन्न ६ चरणमा ७० दिनमा चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउने प्रस्ताव गरेको छ । जनजीवन, आर्थिक गतिविधिको निरन्तरता र नियमितताको सन्तुलन राख्न लकडाउनको हालको स्वरुप परिवर्तन गर्न लागिएको हो । पहिलो चरणमा कृषि, दैनिक उपभोग्य सामाग्री वितरक केन्द्रहरु खोल्ने तयारी छ ।
जेठ १७ गतेको मन्त्रीपरिषद बैठकले समितिलाई लकडाउनको नयाँ स्वरुप टुंगो लगाउने जिम्मेबारी दिएको थियो । लामो छलफलपछि समितिले त्यसलाई अन्तिम रुप दिन लागेको हो ।
सरकारले लकडाउन खुकुलो बनाउने योजना टुग्याउन नसक्दा काठमाडौं उपत्यका सहित देशभर ब्यापारीहरुले धमाधम पसल खोल्न थालेका छन् । सडकमा सवारीसाधनको चाप पनि बढेको छ । सरकारले पछिल्लोपटक जेठ ३२ गतेसम्म लकडाउन थप गरेको छ । सरकारले गत चैत ११ गतेदेखि लकडाउन गर्दै आएको छ।
प्रतिक्रिया