बैंक, वित्तीय संस्था र निजी कार्यालय ५० प्रतिशत कर्मचारीबाट संचालन गर्नुपर्ने

0
Shares

सरकारले बैंक वित्तीय संस्था, गैरसरकारी तथा निजीक्षेत्रका कार्यालयहरुका साथै अन्य सरकारी कार्यालयहरुलाई ५० प्रतिशतसम्म कर्मचारी राखेर संचालन गर्न निर्देशन दिएको छ ।

बुधबार बसको मन्त्रिपरिषद बैठकले तीन चरणको मोडालिटीमा लकडाउन खुला गर्ने निर्णय गरेको हो । जसमा पहिलो चरणमा बैंक तथा वित्तीय संस्थाहरु लगायत २१ सेवा तथा कामहरु संचालन गर्न पाइनेछ ।

तेस्रो चरणको लकडाउन खुल्दा मात्र शतप्रतिशत कर्मचारी

सरकारले सार्वजनिक गरको लकडाउन खुला गर्ने तीन चरणको नीति अनुसार अवस्था सामान्य बन्दै गएमा बैंक तथा वित्तीय संस्था एंवम बीमा कम्पनीहरु साउनको पहिलो साताबाट मात्र शतप्रतिशत कर्मचारी राखेर संचालनमा आउने भएका छन् ।

सरकारले लकडाउन खुकुलो बनाउने पहिलो चरणको रणनीति २१ दिनको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले ५० प्रतिशत कर्मचारी राखेर सेवा प्रवाह गर्नुपर्नेछ ।

२१ दिनपछि दोस्रो चरणको लकडाउन खुला हुनेछ । जससमा बैंक तथा वित्तीय संस्थाहरुले ७५ प्रतिशतसम्म कर्मचारी राखेर सेवा संचालन गर्नुपर्ने छ भने दोश्रो चरणको १५ दिन स्थिति सहज भएमा तेश्रो चरणमा लकडाउन खुला गरिनेछ ।

बैंक तथा वित्तीय संस्थाहरुले शतप्रतिशत कर्मचारी राखेर सेवा संचालन गर्न पाउने व्यवस्था गरिएको छ । तेस्रो चरणसम्म पुग्न पहिलो चरणको २१ दिलन र दोस्रो चरणको १५ दिन पार गर्नुपर्नेछ ।

लकडाउन तीन चरणमा खुकुलो पार्दै लैजाने सरकारको निर्णय, कहिले के के खुल्छन ? नखुल्नेको सूची सहित

त्यस्तै आजबाट स्वास्थ्य सेवासँग सम्बन्धीत सबै सेवा, निजी क्लिनिकसमेत खुला गर्न सरकारले निर्देशन दिएको छ । औषधि, खाद्य तथा पेय पदार्थ, तरकारी, फलफूल, दुग्ध पदार्थ, अण्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी पनि आजबाट खुला हुनेछन् ।

पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण, फोहोरमैलाको व्यवस्थापन, विद्युत दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रशारण, हुलाक, सम्बन्धी सेवा पनि खुला हुने छन् ।

पहिलो चरणमा आजबाट खुल्ने सेवा र कार्य

१) स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिकसमेत
२) औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी
३) पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण
४) फोहोरमैला व्यवस्थापन
५) विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा
६) बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा
७) सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य
८) कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य
९) उत्पादनशील उद्योग
१०) निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय
११) विकास आयोजना (निजी क्षेत्रबाट प्रवर्द्धिधतसमेत)
१२) निर्माण कार्य (निजीसमेत)
१३) नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण
१४) रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा
१५) क्वारेन्टिनका लागि तोकिएका होटल
१६) बिजुलीका सामान बिक्री र मर्मत
१७) विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप
१८) पुस्तक पसल तथा स्टेसनरी
१९) सबै प्रकारका ढुवानी सेवा
२०) अत्यावश्यक सेवाका कार्यालय
२१) अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी)