आजदेखि सबै सरकारी कार्यालय दुई सिफ्टमा खुल्दै, स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य

0
Shares

सरकारले गत चैत देखि लागू गरेको लकडाउन सहज गर्ने क्रममा आजदेखि सबै सरकारी कार्यालयहरु संचालनमा आउने भएका छन् । मन्त्रिपरिषद्ले गत साता नै बन्दाबन्दीको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको थियो ।

सरकारको निर्देशन अनुसार सोमबारदेखि सबै कार्यालय दुई सिफ्टमा सञ्चालनमा आउने भएका छन् । पहिलो चरणमा बिहान ८ बजेदेखि १ बजेसम्म र दोस्रो चरणमा १ देखि साँझ ६ बजेसम्म कार्यालय खुला गर्न लागिएको हो ।

सर्वसाधारणलाई सहज र छिटो सेवा प्रवाह गर्न सरकारले दुई सिफ्टमा सेवा प्रवाह गर्न लागेको हो । कार्यालयमा कार्यरत कुल कर्मचारीको ५० प्रतिशत कर्मचारी पहिलो सिफ्टमा र बाँकी ५० प्रतिशत कर्मचारी अर्को सिफ्टमा सेवा प्रवाह गर्ने गरी व्यवस्था मिलाउन भनिएको छ।

अनलाइन र टेलिफोनको माध्यमबाट सेवा प्रवाह गर्न सकिने कार्यालयले सोही माध्यमबाट सेवा प्रवाह गर्ने र आवश्यकता अनुसार टोकन प्रणालीको व्यवस्था गर्न पनि सबै निकायलाई सरकारले आग्रह गरेको छ ।

साथै सरकारले स्वास्थ्य सुरक्षा मापदण्डहरु लागू गर्न पनि सबै सरकारी कार्यालयहरुलाई निर्देशन दिएको छ । सबै कार्यालयले मूल प्रवेशद्वारमा कर्मचारी र सेवाग्राहीको तापक्रम नाप्ने व्यवस्था देखि हात धुनका लागि साबुन पानी र सेनिटाइजरको व्यवस्था गर्नुपर्नेछ । साथै कामको चाप बढी पर्ने कार्यालयमा सेवाग्राहीलाई छुट्टै सेवा प्रवाह गर्न छुट्टै काउन्टरको व्यवस्था गर्नुपर्ने सरकारको निर्देशन छ ।

सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा आउने फ्रन्ट डेस्कका कर्मचारीले अनिवार्यरुपमा पीपीई, पञ्जा, माक्स लगाउनुपर्ने भने सेवाग्राहीले पनि भौतिक दूरी कायम गर्नुपर्नेछ ।

 

 

 

प्रकाशित मिति: १ असार २०७७, सोमबार  ०६ : ५५ बजे