लकडाउनमा मूल्य वृद्धि घट्यो

0
Shares

चालु आर्थिक वर्षको १० महिना अर्थात बैशाखमा उपभोक्ता मूल्य वृद्धि घटेको छ । सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लकडाउन गरी आर्थिक गतिविधि ठप्प भएको बैंशाख महिनाको उपभोक्ता मुद्रास्फीति ५.८३ प्रतिशत रहेको छ । २०७६ चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.७४ प्रतिशत रहेको थियो ।

तर, गत आर्थिक वर्षको बैंशाखको तुलनामा भने मूल्य वृद्धि वढेको केन्द्रीय बैंकले जनाएको छ । २०७७ बैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.८३ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही महिनामा मुद्रास्फीति ५.२९ प्रतिशत रहेको थियो ।

बैंशाख महनिामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६७ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत फलफूल, तरकारी, दाल तथा गेडागुडी र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ ।

चालु आवको बैंशाखमा काठमाडौं उपत्यकामा ५.७१ प्रतिशत, तराईमा ६.३५ प्रतिशत, पहाडमा ५.११ प्रतिशत र हिमालमा ५.१९ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ बैशाखमा यी क्षेत्रहरुमा क्रमशः ६.०५ प्रतिशत, ४.९४ प्रतिशत, ४.९५ प्रतिशत र ६.१३ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७७ बैशाखमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ७.४९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ९.५० प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क १३.५६ प्रतिशत र ज्यालादर सूचकाङ्क ५.८५ प्रतिशतले बढेको छ ।