नागरिक स्टक डिलरले साउनको पहिलो साताबाटै कारोबार थाल्ने

0
Shares

नागरिक स्टक डिलर कम्पनीले साउनको पहिलो साताबाटै शेयर बजारमा प्रवेश गर्ने भएको छ।

नागरिक स्टक डिलर कम्पनीको बहुमत शेयर होल्डर कम्पनी नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले स्टक डिलरको अनुमति लिनको लागि आवश्यक कागजातहरु जुटाउने काम भइरहको जानकारी दिए ।

कार्यकारी निर्देशक नेपालले भने, ‘शेयर बजारमा प्रवेश गर्न धितोपत्र बोर्डलाई भन्दा हामीलाई हतारो छ । लकडाउनको कारण स्टक डिलर कम्पनीको बोर्ड बस्न नसकेकाले केहि ढिलाई भएको मात्र हो । हामी अनुमति लिने प्रक्रियाको अन्तिम चरणमा छौ, कम्पनीको लागि आवश्यक भौतिक पूर्वाधार, सफ्टवेयर तथा उपकरण जडान र कर्मचारी व्यवस्थापनको काम भइरहको छ । अहिले नागरिब लगानी कोषबाटै काम भइरहेको भएपनि कम्पनीका लागि घर लिने प्रक्रिया अघि बढेको छ । सबै काम केहि दिनमा सकाएर हामी बोर्ड जान्छौ। साउनको पहिलो साताबाटै कारोबार सुरु गर्छौ ।’

बोर्डले पत्रचार गर्नुअघि नै हामीले आवश्यक प्रक्रियाहरु अगाडि बढाइसकेका थियौ, लकडाउनको कारण केहि विलम्ब हुन पुगेको हो, नयाँ आर्थिक वर्ष सुरु हुनसाथ हामी कारोबार थाल्छौ नेपालले भने ।
नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषलाई स्टक डिलरको अनुमति प्रक्रिया शिघ्र अगाडि बढाउन असार १ गते पत्रचार गरेको थियो। सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि धितोपत्र बजारको विस्तारका लागि स्टक डिलर सञ्चालनमा घोषण गरेको छ ।

नागरिक लगानी कोषले सर्वसाधारणको समेत स्वामित्व रहनेगरी गत माघमा स्टक डिलर कम्पनी दर्ता गरेको थियो । कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ, चुक्ता पूँजी ५ अर्ब रुपैयाँ राखिएको छ ।

हाल कम्पनीको चुक्तापूँजी वापतको ३ अर्ब ५० करोड रुपैयाँ जम्मा हुने क्रममा छ । सर्वसाधारणको डेढ अर्ब बाहेकको यो रकमबाट हालसम्म कम्पनी स्थापनाको क्रममा भएको खर्च, कार्यालय व्यवस्थापन लागि आवश्यक रकम राखेर बजार विश्लेषण गरेर लगानी गर्दै जाने योजनामा कम्पनी रहेको नेपालले बताए ।

हामीसँग उपलब्ध रकम मात्र नभई आवश्यक परेमा अन्य कम्पनीहरुसँग सापट तथा ऋण लिएर बजारमा लगानी बढाउँदै जाने योजना रहेको पनि उनले सुनाए ।

शेयर बजारमा ठूलो घटबढ हुन नदिन स्टक डिलर स्थापना गरिएको हो । यो कम्पनीले शेयर बजामा १५ अर्ब बराबर रकम लगानी गर्ने योजना बनाएको छ । कम्पनीले आफ्नो ५ अर्ब रुपैयाँ र बजारबाट बास्केट फण्डको रुपमा उठाएको १० अर्ब रुपैयाँ लगानी गर्ने योजना अघि सारेको छ।

नागरिक लगानी कोषको नेतृत्वमा संचालनमा आउन लागेको ’नागरिक स्टक डिलर’ कम्पनीले अधिकतम ३५ अर्ब रुपैयाँसम्म शेयर बजारमा लगानी गर्न पाउनेछ । कम्पनीले चुक्तापूँजीको ६ गुणासम्म कर्जा सापटी लिएर दोस्रो बजारमा परिचालन गर्न पाउने व्यवस्था छ । यसका आधारमा ५ अर्ब रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले ३५ अर्बसम्म लगानी पाउने देखिन्छ ।

कम्पनीले आगामी दिनमा चुक्ता पूँजी बढाउँदै लग्ने भएकाले बर्षेनी कम्पनीको लगानी क्षमता बढ्दै जाने र सोही अनुरुप बजारमा लगानी बढाउँदै लैजान सकिने नेपालको भनाई छ ।

शेयर बजारमा ठूलो घटबढ हुन नदिन स्टक डिलर स्थापना गरिएको हो । नेपाल धितोपत्र बोर्डले नियमावली संशोधन गराएर कोषलाई स्टक डिलरको रुपमा काम गर्ने बाटो खोलिदिएपछि कोषले कम्पनी दर्ता गराएको हो ।

नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शिघ्रता ल्याउन संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सक्ने तथा पूँजी बजारको विकासमा गतिशिलता ल्याउने उद्देश्यले स्थापित नागरिक लगानी कोषलाई स्टक डिलरको अनुमति प्रक्रिया शिघ्र अगाडि बढाइएको र स्टक डिलरको प्रवेशले पूँजी बजारमा गतिशिलता आई बजारको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बोर्डको भनाई छ ।

स्टक डिलर कम्पनीमा नागरिक लगानीकोषको ५१ प्रतिशत शेयर स्मामित्व रहेको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल दुरसञ्चार कम्पनी ९एनटीसी०को ९ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर रहने छ ।

कम्पनीमा कोषको दुई अर्व ५५ करोड रुपैयाँ लगानी हुनेछ भने टेलिकमले ५० करोड, पुर्नबीमा कम्पनीको ४५ करोड र एक अर्ब ५० करोड सर्वसाधारणको लगानी रहने कम्पनीले जनाएको छ ।