लगानी बोर्डको सिईओ छनौंट प्रक्रिया अघि बढ्यो, दरखास्त आह्वान

0
Shares

सरकारले लगानी बोर्डको कार्यकारी प्रमुख नियुक्तीका लागि खुल्ला प्रतिस्पर्धाका आधारमा दरखास्त आह्वान गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको लागि नियुक्तीका लागि गठित समितिको सचिवालयले प्रस्ताव आह्वान गरेको हो।

सरकारले बोर्डको सिइओ नियुक्तिको सिफारिस गर्न बोर्डका उपाध्यक्ष (अर्थमन्त्री) को संयोजकत्वमा योजना आयोगका उपाध्यक्ष र सरकारले पठाउने एक विज्ञ सदस्यसहितको सिफारिस समिति गठन गरेको छ।

सिफारिस समितिले आजको मितिबाट १५ दिनभित्र प्राप्त हुनेगरी सिलबन्दी निवदेन पेस गर्न सार्वजनिक सूचना प्रकासित गरेको छ ।

बोर्डको कार्यकारी प्रमुखका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ वा परियोजना विश्लेषण, वाणिज्य कानुन विषयमा कम्तीमा स्नातकोत्तर तह उर्तिण गरी सम्वन्धित क्षेत्रमा कम्तीमा दश वर्षको अनुभवसहितको उच्चस्तरको दक्षता भएको तथा ३५ वर्ष पूरा भएको हुनुपर्ने प्रावधान रहेको छ।

सिफारिस समितिले सिइओ नियुक्तिका लागि व्यवस्था गरिएको मापदण्डका आधारमा योग्य उम्मेदवारमध्ये ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । समितिले सिफारिस गरेका उम्मेदवारमध्ये सबैभन्दा योग्य एकजनालाई मन्त्रिपरिषद् बैठकले निर्णय गरेर बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्नुपर्ने व्यवस्था छ ।

यसअघि बोर्डका सिइओ महाप्रसाद अधिकारीले चारवर्षे कार्यकाल पूरा गर्न दुई महिना बाँकी छँदै राजीनामा दिएपछि बोर्ड प्रमुखविहीन बनेको थियो। अधिकारीलाई सरकारले २५ चैतमा राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरिसकेको छ ।

लगानी बोर्डको काम

बोर्डले सरकारले तय गरेका लगानीका क्षेत्रमध्ये प्रतिस्पर्धात्मक वा प्राथमिकताका क्षेत्रको छनौट गर्ने गराउने, लगानी योग्य परियोजनाको छनौट गरी प्रस्ताव आह्वान, प्राप्त प्रस्तावको मूल्याङ्कन, लगानीकर्तासँग वार्ता, लगानीको स्वीकृति प्रदान, प्रस्तावकसँग तोकिएबमोजिम सम्झौता गर्ने गरेको छ ।

यस्तै भएका सम्झौताबमोजिम परियोजना निर्माण, कार्यान्वयन वा सञ्चालन भए वा नभएको अनुगमन गर्ने र लगानी प्रवर्द्धनका लागि विभिन्न मन्त्रालय, सरकारी तथा स्थानीय निकायबीच समन्वय गर्ने वा गराउनेजस्ता महत्वपूर्ण जिम्मेवारी लगानी बोर्डले निभाउँदै आएको छ।