स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ८८ महिला र ३३८ पुरुष रहेका छन्।शुक्रबार थपिएका संक्रमितमध्ये काठमाडौँका तीन जना रहेका छन्।
यससँगै कुल संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ । कूल संक्रमितमध्ये ७०७ जना महिला र ७ हजार ५६७ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालय प्रवक्ता प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। हालसम्म ७४ जिल्लामा कोरोना भाइरस संक्रमण फैलिसकेको छ । बिहीबार एकैदन सबैभन्दा धेरै ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
स्वास्थ्य मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म ६ हजार ८७२ जनामा संक्रमण जारी रहेको बताए । ९ जना महिला र २०७ जना पुरुष गरि शुक्रबार २१६ जना डिस्चार्ज भएका छन् । हालसम्म १ हजार ४०२ जना उपचारपछि निको भई घर फर्किएका छन्। त्यस्तै हालसम्म कोरोना संक्रमणका कारण २२ जनाको ज्यान गएको छ।
नेपालमा हालसम्म १ लाख ६१ हजार ७४९ वटा पीसीआर परीक्षण भएकोमा १ लाख ५३ हजार ४७५ जनामा कोरोना नेगेटिभ रिर्पोट आएको छ। यस्तै २ लाख ४७ हजार ८७४ वटा आरडिटी परिक्षण सम्पन्न भएको छ। ६ हजार ८५० जना आइसोलेसन कक्षमा उपचाररत रहँदा १ लाख ९ हजार ४६१ जना क्वारेन्टाइनमा रहेका छन्।
प्रतिक्रिया