असारको पहिलो साता बैंकहरुमा थपियो १८ अर्ब निक्षेप

0
Shares

चालु आर्थिक वर्षको अन्तिम महिना असारको पहिलो सातामा वाणिज्य बैंकहरुमा १८ अर्ब निक्षेप थपिएको छ । बैंकहरुको निक्षेपमा सुधार भएपनि कर्जा प्रवाह भने रोकिएको छ ।

लकडाउनका कारण लगभग तीन महिनासम्म आर्थिक क्रियाकलाप ठप्प हुँदा बैंकहरुको कर्जा प्रवाह विस्तार हुन सकेको छैन । तर लकडाउन खुकुलो हुँदै गएपछि बैंकहरुको कर्जा असुलीमा भने सुधार आएको छ । असारको पहिलो सातामा पनि बैंकहरुको कुल कर्जा ५ अर्बले घटेको छ ।

सरकारले कोराना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो। चैत लागेयता मात्र बैंकहरुमा १५४ अर्ब निक्षेप थपिएको छ भने यस अवधिमा बैंकहरुको कर्जा मात्र ८ अर्बले बढेको छ ।

वैशाख र जेठ महिाना मात्रै बैंकहरुमा ८७ अर्ब निक्षेप थपिएको छ भने २९ अर्बले कर्जा घटेको छ । लकडाउननै भएपनि बैंकहरुले केहि कर्जा असुल गर्दा कर्जाको रकम घट्न गएको हो। पछिल्लो एक महिना अर्थात जेठ महिनामा ५७ अर्ब निक्षेप थपिदा १३ अर्ब कर्जा घटेको देखिन्छ । असारको पहिलो सातामा १८ अर्ब निक्षेप थपिदा ५ अर्ब कर्जा घटेको छ।

असार ५ गतेसम्ममा वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ३२ खर्ब ९४ अर्ब रहेको छ भने कुल कर्जा प्रवाह २८ खर्ब ११ अर्ब रहेको छ।

चालु आर्थिक बर्षको सुरुवात अर्थात २०७६ साउन १ गते बैंकहरुमा २८ खर्ब ७८ अर्ब निक्षेप थियो भने त्यस अवधिमा बैंकहरुले २४ खर्ब ९८ अर्ब कर्जा परिचालन गरेका थिए ।

चालु आर्थिक वर्षमा बैंकहरुमा ४१६ अर्बले निक्षेप बढेको छ भने ३१३ अर्बले कर्जा बढेको छ । लकडाउन अगाडि बैंकहरुमा निक्षेपको भन्दा कर्जाको वृद्धिदर बढी हुने गरेको थियो । लकडाउन अवधिमा निक्षेप थपिने, कर्जा रोकिने तथा केहि कर्जाहरु असुल समेत भएपछि निक्षेप र कर्जाको वृद्धिको खाडल सन्तुलनमा आएको हो ।

सरकारले लकडाउन खुकुलो बनाउदै लगेकाले आर्थिक क्रियाकलापहरु बढ्दै जाँदा बैकहरुमा कर्जाको माग बढ्दै जाने बैंकहरुको भनाई छ।