एनआईसी एशिया लघुवित्तले असार महिनामा पनि ऋणीलाई व्याज छुट दिने

0
Shares

एनआईसी एशिया लघुवित्तले कोभिड १९ महामारीबाट यस वित्तीय संस्थाका ऋणीहरूलाई परेको प्रभावको मूल्यांकन गर्दै आफ्नै प्रयासबाट असार महिनाका लागि समेत ऋणीहरुलाई कर्जाको ब्याजमा छुट हुने योजना ल्याएको छ।

नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको ३ प्रतिशत ब्याज छुटको अलावा लघुवित्तबाट कर्जा सुविधा लिनुभएका सम्पूर्ण ऋणीहरुले २०७७ आषाढ मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गरेमा उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी न्यून १ प्रतिशत र अधिक ६ प्रतिशत छुट गरिने सुविधा प्रदान गरिने छ ।

यस सुविधा पश्चात अधिक व्याजदरको छुट प्राप्त गर्ने ऋणीको व्याजदर १२ प्रतिशत कायम हुनेछ । साथै साँवा तथा ब्याज चुक्ता भुक्तान गर्न ढिलाई गर्दा लाग्ने पेनाल चार्ज÷ब्याज र जरिवाना रकममा समेत शतप्रतिशत मिनाहाको व्यवस्था वित्तीय संस्थाले गरेको छ । यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै वित्तीय संस्थाबाट प्रवाह भएका सम्पूर्ण क्षेत्रका कर्जाहरूमा लागू हुनेछ ।

लघुवित्तले यसअघि नेपाल राष्ट्र बैंकद्वारा २०७७ वैशाख १६ गते कोभिड १९ बाट ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत्र मसान्तसम्म कायम ब्याजदर ३ प्रतिशतले घटाई चालु आर्थिक वर्षको चौथो त्रैमासको ब्याज गणना गर्न जारी गरिएको निर्देशनको समेत तत्काल पूर्ण कार्यान्वयन गरेको थियो।

यसका अलावा लघुवित्तले ऋणीहरूले जेष्ठ महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता÷ब्याज रकम जेष्ठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएकोमा सो योजना समेत अत्यन्त लोकप्रिय भएको लघुवित्तले जनाएको छ।