अमेरिकी इक्वीटी कम्पनी बेन क्यापिटलले अस्ट्रेलियाली बिमान सेवा भर्जिन अस्ट्रेलिया खरिद गर्ने

0
Shares

 

निजी क्षेत्रको अमेरिकी इक्वीटी कम्पनी बेन क्यापिटलले टाट पल्टिएको अस्ट्रेलियाली बिमान सेवा भर्जिन अस्ट्रेलिया खरिद गर्न सहमति जनाएको डिलोइट कम्पनीले जनाएको छ । 

भर्जिन अस्ट्रेलिया खरिदका लागि यसअघि निवेदन दिएको साइरस क्यापिटल पार्टनर्सले अनिच्छा देखाएपछि दोस्रो प्रतिस्पर्धी बेन क्यापिटललाई बिक्री गर्न लागिएको हो ।

डिलोइटले कम्पनी बिक्रीका लागि आगामी अगस्टमा लगानीकर्ताहरुले मतदान गर्ने जनाएको छ । डिलोइटले बेन क्यापिटलले खरिदका लागि निकै आकर्षक योजना र रकम प्रस्ताव गरेको बताएको छ ।

अस्ट्रेलियाको यो दोस्रो ठूलो बिमान कम्पनी हो । यस कम्पनीमा हजारौं कामदार र उनीहरुका परिवार आश्रित छन् । कम्पनी बिक्रीका क्रममा अधिकांश कर्मचारी, कामदारको रोजगारी सुनिश्चित गरिएको डिलोइटले जनाएको छ ।

कोरोनाभाइरसका कारण अस्ट्रेलिया सहित विश्वभर हवाई सेवाको अवस्था नाजूक देखिए पनि भर्जिन अस्ट्रेलियाप्रति बेन क्यापिटलले देखाएको उत्सुकताले पर्यटन र हवाई क्षेत्र चाँडै पुनरागमन हुने संकेत गरेको डिलोइटको भनाई छ ।